अमेरिकाबाट अनुमति पाएसँगै एमसिसी परियोजना अवरोधविहीन रूपमा अघि बढ्ने

Image

नेपालमा सञ्चालित मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) अन्तर्गतको विकास परियोजना अब कुनै अवरोधबिना निरन्तर अघि बढ्ने भएको छ। नेपाल सरकार र एमसिसीबीच भएको ‘नेपाल कम्प्याक्ट’ सम्झौतामा अमेरिकी सरकारले औपचारिक स्वीकृति दिएपछि परियोजना कार्यान्वयनमा सहजता आउने भएको हो।

अमेरिकी सरकारको वैदेशिक सहायता समीक्षाबाट एमसिसी सम्झौताका कार्यहरूलाई निरन्तरता दिन सकारात्मक सिफारिस भएपछि नेपालस्थित अमेरिकी दूतावासमार्फत नेपाल सरकारलाई जानकारी गराइएको हो। यसले अब परियोजना कार्यान्वयनमा नयाँ आशा र गति थपिएको देखिएको छ।

कुल ५० करोड अमेरिकी डलर बराबरको अनुदान र नेपाल सरकारको थप १९.७ करोड डलरको योगदानमा सञ्चालित उक्त परियोजनाले देशभर विद्युत् प्रसारण पूर्वाधारको निर्माण र सडक सञ्जालको स्तरोन्नति गर्ने लक्ष्य राखेको छ। परियोजनाले दीर्घकालीन समृद्धि र क्षेत्रीय ऊर्जा व्यापारमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

अर्थ मन्त्रालयले पनि अमेरिकाबाट प्राप्त स्वीकृतिबारे पुष्टि गर्दै जनवरी २० मा अमेरिकी कार्यकारी आदेशअनुसार गरिएको पुनरवलोकन प्रक्रिया गत शुक्रबार सम्पन्न भएको जानकारी दिएको छ। अब एमसिसी परियोजनाले अवरोधविहीन रूपमा कार्यान्वयनको चरणमा प्रवेश गर्ने निश्चित भएको मन्त्रालयको भनाइ छ।

साभारः गोर्खापत्र अनलाईन बाट