लोथरमा स्यालको आक्रमण: बाटो हिँडिरहेका तीन जना घाइते, बौलाएको स्यालको आशंका

Image

हेटौंडा/ मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित लोथरमा स्यालले टोकेर तीन जना स्थानीय घाइते भएका छन्। घाइते हुनेमा ३० वर्षीय तारा थापा तामाङ, ४८ वर्षीय हरी पौडेल र ५२ वर्षीय अलि उल्लाह रहेका छन्।

सोमबार बिहान पूर्वपश्चिम राजमार्गअन्तर्गतको लोथर सामुदायिक वन नजिकै बाटोमा हिँडिरहेका बेला एक्कासी स्याल निस्केर उनीहरूलाई आक्रमण गरेको थियो। स्यालले खुट्टामा टोकेपछि जंगलतर्फ भागेको स्थानीयले बताएका छन्।

घाइतेहरूमध्ये तामाङ र पौडेलको चितवनको गड्यौली मेडिकलमा तथा उल्लाहको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ। स्थानीयले आक्रमणकारी स्याल बौलाएको हुनसक्ने अनुमान गरेका छन्।
घटना भएपछि वन कार्यालय र स्थानीय प्रशासनले स्यालको खोजी तथा थप अनुसन्धान थालेका छन्। स्थानीयवासीमा भने त्रास फैलिएको छ।