हेटौंडा/ बागमती प्रदेश कांग्रेस संसदीय दलको नेताका रूपमा इन्द्रबहादुर बानियाँले साढे दुई वर्षअघिको हार उल्ट्याउँदै पुनरागमन गरेका छन्। बुधबार सम्पन्न निर्वाचनमा उनले वर्तमान मुख्यमन्त्रीसमेत रहेका बहादुर सिंह लामा तामाङलाई ८ मतको अन्तरले पराजित गर्दै नेतृत्व हात पारेका हुन्।
कांग्रेसका ३७ जना सांसदमध्ये बानियाँले २२ मत पाए भने लामाले १४ मत मात्रै ल्याए। एक मत बदर भएको थियो। बानियाँ र लामा दुवै नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा पक्षधर हुन्।
१३ साउनमा लामाविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा २२ सांसदको समर्थनपछि दल नेतृत्व संकटमा परेको थियो। सोही
प्रस्तावको परिणामस्वरूप आजको निर्वाचन भएको हो।
बानियाँ र लामाबीच यो दोस्रोपटकको प्रतिस्पर्धा हो। १३ पुस २०७९ मा पहिलो पटक दल नेताका लागि भिडेका बेला बानियाँ ५ मतले पराजित भएका थिए। त्यसबेलाका पराजित बानियाँले अहिलेको प्रतिस्पर्धामा भने मतपरिणाम उल्ट्याएर स्पष्ट विजय निकालेका छन्।
विगतमा लामाको नेतृत्वमा सरकार गठन गर्दा साथ दिएका पाँचजना मन्त्रीहरूले राजीनामा दिँदै बानियाँको पक्षमा खुलेर उभिएका थिए। यथार्थमा, पार्टीभित्रको शक्ति सन्तुलन बानियाँतिर फर्किएको स्पष्ट भएको छ।

















