गाउँ–गाउँमा पशु स्वास्थ्य र विपन्न किसानलाई सिधा सहायता: बागमती कृषि मन्त्रालयको एक वर्षे उपलब्धि

Image

हेटौंडा/ बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ग्रामीण किसानको जीवनस्तर सुधार र पशु स्वास्थ्य सेवा विस्तारलाई केन्द्रमा राखेर आर्थिक वर्ष २०८१/८२ मा महत्त्वपूर्ण प्रगति गरेको दाबी गरेको छ। मन्त्री प्रकाश श्रेष्ठले एक वर्षे कार्यकाल पुरा गर्दै सार्वजनिक गरेका तथ्याङ्कअनुसार मन्त्रालयले “एक वडा, एक पशु स्वास्थ्य क्लिनिक” कार्यक्रमअन्तर्गत २२ वटा पशु स्वास्थ्य भवन निर्माण गरी स्थानीय तहलाई हस्तान्तरण गरेको छ।

यसबाहेक, पिपिआर खोप अभियानमार्फत १५ लाखभन्दा बढी भेडाबाख्रालाई खोप दिइएको छ, जसले साना किसान र पशुपालकहरूमा रोगप्रतिरोधात्मक सेवा पुर्याएको छ। मन्त्रालयले साना सिँचाइ योजनामा समेत ध्यान दिँदै २७६ वटा आयोजनाहरू सम्पन्न गरेको छ।

विपन्न र आपतग्रस्त किसानप्रति प्रत्यक्ष राहत र आत्मनिर्भरता अभिवृद्धिका लागि मन्त्रालयले २७१ किसानलाई प्रतिव्यक्ति १ लाखका दरले कृषि कार्यक्रम सञ्चालन सहयोग दिएको छ भने ३३० किसान र १६ फर्मलाई कुल १ करोड २२ लाखभन्दा बढी राहत रकम वितरण गरेको छ।

अघिल्लो वर्ष कुल २ अर्ब ५० करोड ६४ लाख बजेटमध्ये ६७.२९ प्रतिशत वित्तीय प्रगति देखिएको मन्त्रालयको दाबी छ। त्यस्तै, यो अवधिमा २३ वटा नयाँ कार्यविधि तयार र १ पुरानो कार्यविधिको संशोधनसमेत गरिएको छ।

चालु आर्थिक वर्ष २०८२/८३ मा मन्त्रालयले २ अर्ब ६३ करोड ४२ लाखको बजेटसहित कृषि तथा पशुपालनलाई व्यवसायिक बनाउने लक्ष्य लिएको छ। सहुलियतपूर्ण कृषि कर्जा, कर्जा सुरक्षण कोष, दुधमा आधारित अनुदान, कृषि बजार व्यवस्थापन, खोप कार्यक्रमजस्ता योजनामा थुप्रै बजेट छुट्याइएको छ।

मन्त्रालयले आगामी दिनमा खोरेत रोगमुक्त क्षेत्र घोषणा, विशेष कृषि पकेट क्षेत्र, आधुनिक बधशाला निर्माण, व्यवसायिक च्याउ खेती, खाद्यबाली प्रवर्द्धन र कृषि ज्ञान प्रवर्द्धन जस्ता कार्यक्रमलाई प्राथमिकतामा राखेको छ।
यसरी, बागमती प्रदेश सरकारले किसानको पहुँचमा सेवा पु¥याउने र ग्रामीण अर्थतन्त्रलाई मजबुत बनाउने रणनीतिक कार्यहरू अघि बढाइरहेको देखिन्छ।