हेटौंडा / हेटौंडा–११ स्थित थानाभर्याङ्गमा बागमती प्रदेश सरकार अन्तर्गत कृषि विकास निर्देशनालय र हेटौंडा उपमहानगरपालिकाको संयुक्त लगानीमा निर्माण गरिएको देशकै नमुना योग्य आधुनिक कृषि बजार — प्रादेशिक कृषि थोक बजार —को उद्घाटन गरिएको छ।

प्रदेशका कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका मन्त्री प्रकाश श्रेष्ठ र हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामा, उपप्रमुख राजेश बानियाँको संयुक्त रूपमा उद्घाटन गर्दै बजार संरचना उपमहानगरलाई औपचारिक रूपमा हस्तान्तरण गरेका हुन्।
पाँच तल्लाको डिजाइनमा तयार गरिएको उक्त भवन हाल बेसमेन्टसहित तीन तल्ला निर्माण भइसकेको छ। कुल लागत अनुमान ३८ करोड ८८ लाख ६७ हजार ५८२ रुपैयाँ रहेकोमा हालसम्म ३२ करोड १० लाख ५० हजार ७१५ रुपैयाँ खर्च भएको जनाइएको छ।
थोक बजारको बेसमेन्टमा सवारी पार्किङको सुविधा, भुइँतल्लामा २० वटा सटर, ४ वटा कार्गो लिफ्ट, २ वटा प्यासेन्जर लिफ्ट छन् भने पहिलो तल्लामा पनि २० वटा सटर निर्माण गरिएको छ।
त्यस्तै, रिटेल बजारतर्फ भुइँतल्लामा ११ वटा सटर, २ वटा कार्गो लिफ्ट र पहिलो तल्लामा १२ वटा सटरसहित किसानका लागि २३२ वर्गमिटर क्षेत्रफलको टहरा बनाइएको छ।
यो बजारले बागमती प्रदेशका किसानहरूले उत्पादन गरेका कृषि उपजको मूल्य अभिवृद्धि र उचित बजारीकरणमा महत्वपूर्ण टेवा पुर्याउने विश्वास गरिएको छ।

















