हेटौंडा/ सवारी साधन चेकजाँचको क्रममा लागूऔषधसहित दुई जना युवा पक्राउ परेका छन् ।
मिति २०८२ साउन १८ गते साँझ ६:३० बजे प्रहरी चौकी रातोमाटे, मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा उपमहानगरपालिका–१५ स्थित रातोमाटे चेकपोष्टमा नियमित जाँच गर्ने क्रममा बा.प्र.०६–००१ ज ०४१४ नम्बरको यात्रुबाहक ईभी गाडीमा सवार दुई जनालाई नियन्त्रणमा लिएको हो । गाडी वीरगञ्जबाट हेटौंडातर्फ आइरहेको थियो ।
चेकजाँचको क्रममा शंका लागी खानतलासी गर्दा उनीहरूको साथबाट ९ ग्राम २०० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने लागूऔषध फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी श्यामु अर्यालले जानकारी दिनुभएको छ। पक्राउ परेका व्यक्तिहरूमा हेटौंडा–१ निवासी २२ वर्षीय समिर मोक्तान र हाल हेटौंडा–१० बसोबास गर्दै आएका, धनुषा गणेशमान चारनाथ नगरपालिका–४ का २४ वर्षीय सिद्धार्थ आलेमगर रहेका छन् ।
पक्राउ परेका दुवै जनाविरुद्ध लागूऔषध सम्बन्धी कसुरमा जिल्ला अदालत मकवानपुरबाट थप अनुसन्धान तथा कानुनी कारबाही प्रक्रिया अघि बढाइएको अर्यालले जानकारी दिनुभएको छ ।

















