बैतडी । बैतडीको मेलौली नगरपालिकाका कर्मचारीहरु आन्दोलित भएका छन् । बिहीबार दिउँसो वडा अध्यक्षले कर्मचारीमाथि कुटपीट गरेको भन्दै अत्यावश्यक बाहेकका सेवा ठप्प पारेर कर्मचारीहरु आन्दोलनमा उत्रेका हुन् ।
वडा न. ९ का अध्यक्ष लोकराज भट्टले जिन्सी शाखामा कार्यरत सहायक पाचौँ चक्रमणी जोशीमाथि कुटपीट गरेको कर्मचारीहरुको आरोप छ ।नगरपालिकाका कर्मचारीहरुले एक प्रेस विज्ञप्ती जारी गर्दै आजैका मितिदेखि अत्यावश्यक बाहेकका सेवाहरु बन्द गरी आन्दोलन शुरु गरेका छन् । सुरक्षाको प्रत्याभूती हुनुपर्ने, काम गर्ने वातावरण हुनुपर्ने, दोषीलाई कारवाही हुनुपर्ने आफूहरुको माग रहेको कर्मचारीहरुले बताएका छन्।
नगरपालिकाका एक कर्मचारीले भने – ‘वडा न. ९ का अध्यक्ष लोकराज भट्टले प्रमुख प्रशासकीयको कार्यकक्षमानै प्रसासकियकै अगाडि जोशीमाथि कुटपीट गरे । अब हामीलाई यस्तै हो भने ज्यान जोगाउन गारो भयो ।’
नगरपालिकामा देखिएको विवादका बिषयमा छलफल गरेर समाधानको प्रयास भइरहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणबहादुर चन्दले बताए । दिउँसो वडा अध्यक्ष र कर्मचारीबीच हातपातको अवस्था सिर्जना भएपछि कामकाजमा बाधा पुगेको उनले बताए। 















