बैतडीमा मदिरा सेवन गरेर नर्समाथि दुर्व्यवहार गरेको आरोपमा एकजना पक्राउ

Image

बैतडी ।

बैतडीमा मदिरा सेवन गरेर नर्समाथि दुर्व्यवहार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । जिल्लाको पाटन नगरपालिका ४ बस्तीका लोकेन्द्रबहादुर महरालाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय पाटनका बरिष्ठ प्रहरी नायव निरीक्षक गौरव सिंहले बताए ।

पीडित पक्षले दिएको निवेदनको आधारमा महरालाई पक्राउ गरिएको हो । सोमबार राति ९ बजेतिर भुमेश्वर स्वास्थ्यचौकीको परीसरमै गएर महराले दुर्व्यवहार गरेको आरोप लागेको छ । महरालाई पक्राउ गरेपछि छलफलका लागि बुधबार पीडित पक्षलाई समेत बोलाएर बरिष्ठ प्रहरी नायव निरीक्षक सिंहले बताए ।

ड्युटीमै रहेका बेलामा स्वास्थ्यकर्मीमाथि दुव्र्यवहार भएकाले स्वास्थ्यचौकीका तर्फबाट इलाका प्रहरी कार्यालयमा निवेदन दिएको भुमेश्वर स्वास्थ्यचौकीका प्रमुख जगदीश विकले बताए । उनले भने ‘ड्युटीमा रहेका सिस्टरमाथि कोठामै पुगेर दुर्व्यवहार भएपछि हामीले कानुनी उपचारका लागि निवेदन दिएका छौं ।’

पीडित नर्सले आफूलाई काम गर्न असुरक्षित वातावरण भएको भनेपछि स्वास्थ्यचौकीका तर्फबाट कानुनी उपचारका लागि पहल गरिएको विकले बताए ।