ध्रुव किरण भुल
बैतडी । बैतडीको पाटन नगरपालिका ६ मा पर्ने कृष्ण माविका शिक्षकको हत्या भएको खुलासा भएको छ। शिक्षक धनबहादुर विष्टको गत पुष १ गते शुक्रबार राति छात्रावास नजिकै हत्या भएको अनुसन्धानबाट खुलेको बैतडी प्रहरीले जनाएको छ। उनको हत्या आरोपमा पक्राउ परेका दुवै जना अभियुक्त श्रीमान–श्रीमतीले प्रहरी समक्ष अभियोग स्वीकार गरेका छन् भने उनलाई बिहीबार सार्वजनिक गरिने भएको छ।
शिक्षक विष्टको पुष २ गते छात्रावास पछाडि करिब ३० मिटर तल शव फेला परेको थियो। मादक पदार्थ सेवन गरी लडेर उनको मुत्यृ भएको अनुमान गरिएको थियो। तर उनका परिवारले हत्याको आशंका गरेपछि अनुसन्धान थालिएको थियो।
‘घटना भएको राति विष्टले मेरो श्रीमतीलाई बोलाएपछि कोठाबाट बाहिर आएकी थिइन् । के रहेछ भनेर म पनि उनीसँगै आउदा…..देखेपछि मैले मुक्का प्रहार गरेको हुँ,’ बयानमा अभियुक्तले भनेका छन्, ‘सोही क्रममा ढलेर उहाँको मृत्यु भयो ।’
प्रहरी स्रोतकाअनुसार विष्टको मृत्यु भएपछि लडेको देखाउने उद्देश्यले शव क्याम्पसको होस्टेल नजिकै फालेको उनीहरुले स्वीकार गरेका छन्।अभियुक्त युवती कृष्ण माध्यमिक विद्यालयमा कम्प्युटर डिप्लोमा चौथो वर्षमा अध्ययन गर्दै आएको बुझिएको छ भने घटनाको दिन श्रिमान पनि सङ्गै रहेको जनाईएको छ।
सुनर्या गाउँपालिका– २ स्थायी घर भएका शिक्षक विष्टको पिकनिकबाट आएपछि छात्रावासमा हत्या भएको प्रहरीको दाबी छ। शिक्षक विष्टको न्यायका लागि ५ दिनदेखि शिक्षक, विद्यार्थी र आफन्त आन्दोलित छन् । आन्दोलित समूहले पाटन नगरपालिकाका विद्यालय, बजार र यातायात दुई दिनदेखि बन्द गराएका छन्। यस्तै, पाटन नगरपालिकाको कार्यालयतालाबन्दी गरिएको छ।