बैतडी । बैतडीको पाटन नगरपालिका –९ स्थित सिद्धेस्वर नमुना मा.वि हुक्केडाँडाँका विद्यार्थीहरुले मैनबत्ती निर्माणमा जुटेका छन् । यस वर्षको तिहारका लागि यहाँका विद्यार्थीहरु मैनबत्ती निर्माणमा जुटेका हुन ।
अभिभावकहरुबाट बर्षेनी चन्दा संकलन गरेर विद्यालय चलाउनु पर्ने समस्या झेलीरहेको यस विद्यालयले भने विद्यार्थीहरुको सीप विकासका साथसाथै आर्थिक लाभ लिनका लागि विद्यालयमा तिहारलाई लक्षित गरी मैनबत्ती उत्पादन गरिरहेको छ ।
विद्यार्थीहरुको प्रयोगात्मक कार्यद्वारा मैनबत्ती बनाउने सीप सिकेको र भविष्यमा पनि घर धन्दा र जिविका चलाउन सहयोग पुग्ने विद्यालयका व्यवस्थापन समीती अध्यक्ष प्रेम सिह भाटले बताएका छन् ।
विगतका वर्षहरुमा पनि यहाँका विद्यार्थीहरु मैनबत्ती निर्माण गर्ने गरेका थिए । कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरुले मैनबत्ती निर्माण गर्ने गरेको विद्यालय कर्मचारी गोपाल महराले जानकारी दिए । करिब ६ प्रकारका मैनबत्तीहरु निर्माण भइरहेको र तिहारका लागि केही दिनमै बजारमा बिक्रि गरिने उनले बताए ।

कक्षा १० सम्मको पठन पाठन हुने विद्यालयमा हाल २ सय २० भन्दा बढी विद्यार्थीहरु अध्ययन गरिरहेका छन् । विद्यार्थीहरुको सिर्जनात्मक कलाको विकास हुनुका साथै जिविकोपार्जनमुलक शिक्षाको लागि यस कार्यबाट टेवा पुग्ने विद्यालयले विश्वास लिएको छ ।
मैनबत्ती उत्पदानबाट आर्जन गरिएको आर्थिक श्रोत विद्यालयको शैक्षिक गुणस्तर सुधारमा खर्च गरिने विद्यालयले जनाएको छ । विद्यार्थीहरुले कच्चा पदार्थ छनौट देखि मैनबत्ती निर्माणको लागि सबै सीपहरु सिक्ने गरेका छन् ।















