कमिल मिशाराको कीर्तिमानी शतकमा चितवन राइनोज क्वालिफायर–२ मा, काठमान्डु गोर्खाज बाहिरियो

Image

काठमाडौँ, मंसिर २ । श्रीलंकाली ब्याटर कमिल मिशाराको ऐतिहासिक शतक र बलरहरूको सानदार प्रदर्शनको मद्दतले चितवन राइनोज नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बुधबार सम्पन्न इलिमिनेटर खेलमा चितवनले काठमान्डु गोर्खाजलाई ६१ रनको फराकिलो अन्तरले पराजित गरेको हो।

टस जितेर पहिले ब्याटिङ रोजेको चितवनले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २०४ रनको विशाल योगफल तयार पारेको थियो। चितवनको इनिङ्समा ओपनर कमिल मिशाराले विस्फोटक ब्याटिङ गर्दै ५९ बलमा १० छक्का र ५ चौकाको मद्दतमा अविजित १२० रनको कीर्तिमानी इनिङ्स खेले। यो एनपीएल इतिहासकै सर्वाधिक व्यक्तिगत उच्च स्कोर हो।

सुरुवाती क्रममा देव खनाल १७ रनमा आउट भए भने डाविड मलान शून्यमै पेभिलियन फर्किए। तर, मिशाराले कप्तान रवि बोपारासँग मिलेर तेस्रो विकेटका लागि १५४ रनको सानदार साझेदारी गर्दै टोलीलाई बलियो स्थितिमा पुर्‍याए। बोपाराले ४२ बलमा ३ चौका र २ छक्कासहित ५३ रनको अर्धशतकीय योगदान दिए। विवेक यादवले ८ रन जोड्दा कुशल मल्ल अविजित रहे। काठमान्डुका बलिङतर्फ कप्तान करण केसी र रासिद खानले समान २–२ विकेट लिए।

२०५ रनको विशाल लक्ष्य पछ्याएको काठमान्डु गोर्खाजले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४३ रन मात्र बनाउन सक्यो। चितवनको कसिलो बलिङसामु काठमान्डुका शीर्ष क्रमका ब्याटरहरू चल्न सकेनन्। काठमान्डुका लागि विल बोसिस्टोले २८ बलमा ३७ रन बनाए भने भीम सार्कीले १७ बलमा ३० तथा सहान अराचिगेले १३ बलमा २४ रन जोडे। रासिद खान १२ र सन्तोष यादव १० रनमा आउट हुँदा अन्य ब्याटरले दोहोरो अंक छुन सकेनन्। चितवनका बलिङतर्फ रिजन ढकालले ४ ओभरमा मात्र ९ रन खर्चेर ३ विकेट तथा उसामा मिरले ३ विकेट लिए। यस्तै, कुशल मल्ल र सलाहुद्दिन खानको नाममा १–१ विकेट रह्यो।

यो जितसँगै चितवनले अघिल्लो संस्करणमा इलिमिनेटरबाटै बाहिरिएको पीडा भुलाउँदै फाइनल प्रवेशका लागि सुदूरपश्चिम रोयल्ससँगको भेट पक्का गरेको छ। दोस्रो क्वालिफायर खेल बिहीबार त्रिवि मैदानमा हुनेछ। यता, लगातार दोस्रो संस्करणमा इलिमिनेटरबाटै बाहिरिएसँगै काठमान्डु गोर्खाजको उपाधि यात्रा समाप्त भएको छ।