सत्तारूढ नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी नेकपा एमालेबीच बालुवाटारमा सुरू भएको बैठक भर्खरै सकिएको छ। राति ७ बजे सुरू बैठक दुई घन्टा चलेर ९ बजे सकिएको हो।
बैठकमा अमेरिकी सहयोगसम्बन्धी सम्झौता एमसिसी, संसद सञ्चालन, १४ सांसदमाथिको कारबाही वा सभामुखको बहिर्गमन लगायत सबै विषयमा खुलेर कुराकानी भएको एमाले नेता सुवास नेम्वाङले सेतोपाटीलाई बताए।
‘वार्ता सकारात्मक रूपले अघि बढेको छ,’ उनले भने।
एमाले उपाध्यक्ष विष्णु पौडेलले पनि एमसिसी लगायत सबै विषयमा कुराकानी भएको तर कुनै सहमति नभएको जानकारी दिए।
‘कांग्रेसले आफ्नो कुरा राख्यो, हामीले आफ्नो कुरा राख्यौं। कुनै सहमतिमा भने पुगिसकेका छैनौं,’ उनले बैठकपछि सेतोपाटीसँग भने, ‘हामीले कि १४ जना सांसद हटाउनुपर्ने कि सभामुखलाई हटाउनुपर्ने कुरा राख्यौं। उहाँहरूले पहिले एमसिसीलाई निकास दिऔं भन्नुभयो।’
थप छलफलका लागि शुक्रबार फेरि दुई दलका नेताहरूबीच बैठक बस्ने एक नेताले जानकारी दिए। त्यसको तयारीका लागि एमाले नेताहरू अहिले ओली निवास बालकोटमा भेला भएका छन्।सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले शुक्रबारको संसद बैठकमा एमसिसीबारे सैद्धान्तिक छलफल हुने र त्यस क्रममा मत विभाजन नहुने बताएका छन्।
बैठकमा कांग्रेस तर्फबाट शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सहभागी थिए भने एमाले तर्फबाट अध्यक्ष केपी शर्मा ओलीसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्षद्वय विष्णु पौडेल र सुवास नेम्वाङ सहभागी थिए।
प्रतिनिधि सभाको बिहीबारको बैठक स्थगित भएपछि प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच छलफल भएको थियो। सत्तारूढ गठबन्धनमा रहेका दलहरूले एमसिसी पारित गर्न साथ नदिने भएपछि प्रधानमन्त्री देउवाले एमालेसँग सहकार्यका लागि सघन संवाद गरिरहेका छन्।
एमालेले एमसिसी पास गर्न पहिला संसद चल्नुपर्ने बताउँदै आएको छ। त्यसका लागि आफूले कारबाही गरेका १४ सांसदलाई संसदमा राख्न नमिल्ने उसको माग छ। आफूले कारबाही गरेका सांसदलाई नहटाएर सभामुख अग्नि सापकोटाले पार्टी फुटाउन सघाएको भन्दै उनलाई हटाउनुपर्ने माग पनि एमालेले अघि सारेको छ।