काठमाडौं
नेपाली काँग्रेसका प्रवक्ता प्रकाशशरण महतले एमाले अध्यक्ष केपी ओलीलाई काँग्रेसको प्रभाव बढ्दै गएको महसुस हुन थालेको बताएका छन् । पार्टी मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महतले ओली आत्तिएर एमालेविरुद्ध षड्यन्त्र भयो भन्न थालेको बताएका हुन् ।
नेपाली काँग्रेसले आगामी फागुन २९ गतेदेखि चैत २९ गतेसम्म ‘घर घर जाऔँ, नेपाली काँग्रेस जिताऔँ’ भन्ने अभियान सञ्चालन गर्दैछ । सोही अभियानबारे जानकारी दिन काँग्रेसले पत्रकार सम्मेलनको आयोजना गरेको थियो । अभियानबारे जानकारी दिँदै महतले पार्टीले सबै कार्यकर्तालाई स्थानीय निर्वाचनको अभियानमा जिम्मेवारी दिने बताए । उनले चुनावमा गठबन्धन हुने/नहुनेबारे अहिले नै बहस गर्न आवश्यक नभएको पनि बताए ।
सो कार्यक्रममा बोल्दै उपसभापति पूर्णबहादुर खड्काले चुनावी गठबन्धनबारे काँग्रेसको केन्द्रीय कार्यसम्पादन र केन्द्रीय समिति बैठकले निर्णय लिने बताए । ‘अहिले हामी गठबन्धनबारे कुनै बहस गर्दैनौँ । काँग्रेसले एक ढिक्का भएर गठबन्धन गर्ने वा नगर्ने निर्णय गर्छ,’ उनले भने, ‘गठबन्धनबारे को नेताले के बोले भन्ने विषयमा चर्चा गर्न आवश्यक छैन । काँग्रेसले संस्थागत निर्णय निर्णय गरेर मात्र यसबारे बोल्छ ।’ उनले केही दिनमा नै भंग गरिएका भातृ संस्थाको नयाँ कमिटी चयन हुने पनि जानकारी दिए ।
यता महामन्त्री विश्वप्रकाश शर्माले नेपाली काँग्रेस जनतालाई आफ्नो कुरा सुनाउन मात्र नभएर जनताको कुरा सुन्न पनि घर–घरमा जाने बताए । उनले भने, ‘ काँग्रेस जनतासँग मत माग्न मात्र जाँदै छैन, निर्वाचनमा भाग लिन अभिप्रेरित गर्ने छ । काँग्रेससँग कसैले आत्तिनु पर्दैन । काँग्रेस मर्यादित रूपमा चुनावी अभियानमा जाँदै छ ।’