विराटनगर
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘विदेशी शक्ति’हरू नेपालमा दुई दलीय व्यवस्था ल्याउन लागिपरेको दाबी गरेका छन् ।
आइतबार विराटनगरमा आयोजित पार्टीको प्रदेश–१ स्तरीय प्रशिक्षण कार्यक्रममा प्रचण्डले माओवादीलाई सिध्याएर दुई दलीय व्यवस्था ल्याउन विदेशी शक्ति लागेको दाबी गरे । तर, कुन विदेशी शक्तिले त्यस्तो गरिरहेको भन्नेबारे उनले खुलाएनन् ।
विदेशी षड्यन्त्र असफल पार्न आफ्नो दलले संघ, प्रदेश र स्थानीय तहको निर्वाचन जित्नैपर्ने उनको भनाइ छ ।
उनले माओवादीलाई घेराबन्दी गरेर कमजोर पार्ने कोसिस भए फेरि कठोर संघर्षको बाटोमा जानुपर्ने अवस्था आउनसक्ने बताए ।
प्रचण्डले पहिलो संविधानसभा निर्वाचनपछि गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति नबनाएर आफूबाट गल्ती भएको पनि बताए ।
“ठुलो पार्टीका रूपमा स्थापित भएपछि हाम्रो खुट्टा भुइँमा भएन । गिरिजाप्रसाद कोइराला विचरा, त्यो बुढो मान्छे । जोसँग हस्ताक्षर गरेर शान्ति सम्झौता भएको हो । उहाँले राष्ट्रपति बन्न खोज्दा दिइएन । खुरुक्क गिरिजाप्रसादलाई राष्ट्रपति दिन पाएको भए पाँचै वर्ष हाम्रो सरकार हुन्थ्यो । अहिले फर्केर हेर्दा अनौठो लाग्छ,” प्रचण्डले भने ।
यस्तै रुक्मांगद कटवाललाई प्रधानसेनापतिबाट हटाउन डा. बाबुराम भट्टराई र रामबहादुर थापा ‘बादल’ले अनावश्यक दबाब दिएको प्रचण्डले बताए ।
पछिल्लो समय सबै दलका नेताहरू चुनाव केन्द्रित बनेका छन् । उनीहरूलाई एकअर्कालाई आरोप प्रत्यारोप लगाउन क्रम बढेको छ ।