काठमाडौं ।
सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि भए अनुसार चैत ७ सम्म सार्वजनिक यातायातको भाडा समायोजन नगरे एकतर्फी भाडा बढाउने यातायात व्यवसायीले चेतावनी दिएका छन् ।
आइतबार यातायात व्यवसायीले काठमाडौंमा पत्रकार सम्मेलन गरी पछिल्लो समय पेट्रोलियम पदार्थमा पटक–पटक मूल्यवृद्धि हुँदा समेत सरकारले भाडा समायोजन नगरेको भन्दै व्यवसायीले तत्काल भाडा समायोजन गर्न सरकारसँग माग गरेका हुन् । सरकारले गत असार २७ गते समायोजन गरेको भाडा अहिलेसम्म लागू भइरहेको छ ।
सरकारले भाडा समायोजन गर्दा डिजेलको मूल्य १०४ हुँदा थियो तर अहिले २७.८८ प्रतिशतले बढेर १३३ पुग्दासमेत भाडा यथावत् यातायात व्यवसायीहरुले लागत धान्न नसकेको गुनासो गरे । पत्रकार सम्मेलनमा बोल्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले सरकारले चैत सात गतेभित्र वैज्ञानिकरुपले भाडादर समायोजन नगरे यातायात व्यवसायीले आफै भाडा बढाउने बताए ।