काठमाण्डौ।
सरकारले आउँदो वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेपछि चुनावी सरगर्मी बढेको छ।
नेताहरू आआफ्ना पार्टीभित्र उम्मेदवार बन्ने टिकट हात पार्न नेतृत्व तहसँग संवाद गरिरहेका छन्। योसँगै आसन्न स्थानीय तहको निर्वाचनमा कुन दलबाट को उम्मेदवार बन्लान् भन्ने चर्चा सुरु भएको छ।
दलहरूले उम्मेदवार छान्न सुरु गरिसकेको नभए पनि उम्मेदवारीका आंकाक्षीहरूले खुलेर आफ्ना पक्षमा माहोल बनाउन थालेका छन्। यसै क्रममा सुदूरपश्चिमको एक मात्र उपमहानगरपालिका धनगढीमा मेयर–उपमेयरमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र नेकपा एकीकृत समाजवादी पार्टीले कसलाई उम्मेदवार बनाउला भनेर निकै चासोका साथ हेरिएको छ।
हमाल मेयरका स्वतन्त्र उम्मेदवार
धनगढी उपमहानगरपालिकाको मेयरका लागि उद्योगी, व्यवसायी गोपाल हमालले स्वतन्त्र उम्मेदवारी घोषणै गरिसकेका छन्। उनले सचिवालय खोलेर चुनावी गतिविधिसमेत अगाडि बढाइसकेका छन्।
अघिल्लो निर्वाचनमा पनि स्वतन्त्र रूपमा मेयर पदको उम्मेदवार बनेका हमाल कांग्रेसका नृपबहादुर वडसँग २ हजार ७ सय मतान्तरले हारेका थिए।
कांग्रेसका तीन आंकाक्षी
धनगढी उपमहानगरपालिकामा नेपाली कांग्रेसबाट तीन जनाले मेयरमा उम्मेदवारीका लागि आंकाक्षा राखेका छन्। यसअघिको चुनावमा धनगढीमा मेयर–उपमेयर दुवै कांग्रेसले जितेको थियो।
कांग्रेसबाट मेयर नृपबहादुर वड, उपमेयर सुशीला मिश्र भट्ट र नेता कृष्णबहादुर महराले यसपालिको निर्वाचनमा मेयरको उम्मेदवार बन्ने चाहना राखेका हुन्। तीनै नेता कांग्रेसमा संस्थापन पक्षका हुन्।
वर्तमान मेयर वडले पुनः अर्काे कार्यकाल पनि काम गर्ने इच्छा रहेको भन्दै आफ्ना पक्षमा माहोल बनाउन निकट नेता/कार्यकर्तालाई सक्रिय गराएका छन्।
उपमेयर भट्टले पनि आफू मेयरको दाबेदार रहेको बताएकी छन्। ‘स्वाभाविक रूपमा माथि बढ्दै जाने इच्छा सबैको हुन्छ। मेरो पनि त्यस्तै हो’, उनले भनिन्, ‘टिकटका विषयमा अहिले पार्टीमा छलफल भएको छैन। जित्ने उम्मेदवारलाई छानेर उचित निर्णय गर्छ भन्ने विश्वास छ।’
यस्तै नेता कृष्णबहादुर महराले पनि मेयरमा आकांक्षा देखाएका छन्। उनले २०७४ को निर्वाचनमा पनि मेयरकोे टिकट पाउने चर्चा चलेको थियो।
कांग्रेसका तत्कालीन नेता पुष्करनाथ ओझालगायतले महरालाई मेयरको उम्मेदवार बनाउन लबिङ गरेका थिए। तर अन्तिम समयमा ओझाले वडको नाममा सहमति गरेपछि महराले टिकट पाएनन्।
एमालेका आंकाक्षी
प्रमुख प्रतिपक्ष नेकपा एमालेबाट धनगढीको मेयरका लागि दुई जना आंकाक्षी देखिएका छन्। एमाले कैलाली उपाध्यक्ष दुर्गा जोशी र अध्यक्षमा पराजित रणबहादुर चन्दले धनगढी उपमहानगरपालिकाको मेयरको उम्मेदवार बन्ने चाहना राखेका हुन्।
उपाध्यक्ष जोशी अघिल्लोपटकको चुनावमा मेयरमा हारेका थिए। त्यसपछि सेती प्रादेशिक अस्पताल व्यवस्थापन समितिको अध्यक्षसमेत भइसकेका जोशी एकपटक धनगढीको मेयर बन्ने दौडमा छन्।
एमाले कैलाली जिल्ला सचिवमा रहेर लामो समय काम गरिसकेका चन्द कार्यकर्तामाझ इमान्दार नेताका रूपमा चिनिन्छन्। विभिन्न अवसरबाट वञ्चित भएका कारण यसपटक चन्दलाई मौका दिनुपर्ने आवाज एमालेमा उठेको छ।
माओवादीः दुई आंकाक्षी
नेकपा माओवादीबाट शान्ति अधिकारी र बलबहादुर ऐरलाई मेयरको सम्भावित उम्मेदवारका रूपमा हेरिएको छ। अधिकारी २०७४ सालको स्थानीय निर्वाचनमा उपमेयर पदमा हारेकी नेता हुन् भने ऐर धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का निर्वाचित वडा अध्यक्ष।
एकीकृत समाजवादी पार्टी
नेकपा एमालेबाट विभाजन भएर गठन भएको नेकपा एकीकृत समाजवादीबाट धनगढीको मेयरका लागि दुई जनाले आंकाक्षा देखाएका छन्। एकीकृत समाजवादी पार्टी धनगढी नगर अध्यक्ष मदन रेग्मी र राजेश भण्डारी मेयरको उम्मेदवार बन्ने चर्चा छ।