सामुदायिक विद्यालयको गुणस्तर यसकारण खस्कियो

Image

धनकुटा ।

२०१५ मा स्थापित धनकुटा बजार छेवैको राष्ट्रिय सरस्वती प्राथमिक विद्यालय केही वर्ष पहिले विद्यार्थी अभाव भएपछि बन्द भयो । कचिँडेलगायत गाउँको सिंगो बस्तीका बालबालिका अध्ययन गर्दै आएको उक्त विद्यालयका सबैजसो बालबालिका बजारका विद्यालयमा आकर्षित भएपछि शून्य विद्यार्थी भए । बजार आसपासका ग्रामीण क्षेत्रका अधिकांश प्राथमिक तहका विद्यालयको अवस्था उस्तै छ ।

पछिल्लो एक दशकदेखि ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयका विद्यार्थी संख्या खस्कने क्रम तीव्र बन्दै गएको छ । शिक्षक दरबन्दीअनुसार विद्यार्थी संख्या पनि न्यून बन्दै गएको छ ।

शिक्षा निर्देशनालयबाट मुस्किलले पाँच सय मिटरको दूरीमा रहेको देब्रेबासस्थित गणेश प्राथमिक विद्यालय पनि चार वर्ष पहिले बन्द भइसकेको छ । बाक्लो गाउँबीचको विद्यालय बन्द हुने क्रम बढ्दै गएको छ । तर सहर बजारका सामुदायिक विद्यालयमा भने विद्यार्थीको चाप बढ्दो रहेको धनकुटा नगरपालिका शिक्षा शाखाका प्रमुख नगेन्द्रमणि श्रेष्ठले बताए ।

राष्ट्रिय सरस्वती र गणेश प्राविमा एक दशक अघिसम्म कक्षाकोठामा अटाइनअटाइ विद्यार्थी हुन्थे । धनकुटा नगरपालिका–६ को आत्मारा आधारभूत, पाख्रिबास नगरपालिकाको चुङ्माङ्स्थित बछलादेवी आभारभूत, साँगुरीगढी गाउँपालिकास्थित डाँडाबजारको जनता आधारभूत, फाक्सिबको शेर्मा, छथरजोरपाटी गाउँपालिकास्थित तांखुवाको मार्गादेवी, बुढीमोरङको पञ्चमी, जनकन्यालगायत आधारभूत विद्यालय संकटमा छन् ।

विद्यालयमा विद्यार्थी न्यून भएपछि शिक्षाका लागि सरकारी लगानी डुब्ने शिक्षा क्षेत्रका विज्ञहरूको चिन्ता छ । न्यून विद्यार्थी भएकालाई अन्य विद्यालयमा गाभ्ने सरकारी नीति रहेको शिक्षा विकास तथा समन्वय केन्द्रका प्रमुख मोहन राईले बताइन् । अधिकांश सरकारी विद्यालयमा कार्यरत शिक्षकले समेत आफ्ना छोराछोरी निजीमा पढाउने गरेका छन् ।

यस्तै, विद्यालयमा बढ्दो राजनीतिक हस्तक्षेप, विद्यार्थीप्रति शिक्षक जिम्मेवार नहुनु र जिम्मेवार निकायबाट विद्यालय अनुगमन नगरिनुजस्ता कारण पनि सरकारी विद्यालयप्रतिको वितृष्णा रहेको शिक्षाविद् जीवनकुमार राईको तर्क छ । यो प्रवृत्तिको अन्त्य गर्न सके केही हदसम्म सामुदायिक विद्यालयको अवस्था उस्कने उनको बुझाइ छ ।

ग्रामीण क्षेत्रका विद्यालय खस्कनुमा अभिभावक, विद्यार्थी, शिक्षक, नागरिक समाज, स्थानीय दल र जनप्रतिनिधि बरोबर जिम्मेवार रहेको शिक्षा शाखा प्रमुख श्रेष्ठले बताए ।

‘सामुदायिक विद्यालय हाम्रो हो र यसलाई मिलेर उकास्नुपर्छ भन्ने भावनाको अभाव भएको ठाउँमा विद्यालयहरू खस्किँदो अवस्था छन्,’ उनले भने । कतिपयमा ठूलो विद्यालयमा दाजुदिदी जाने गर्दा सानालाई उनीहरूसँगै पठाउने गर्दा बजार क्षेत्रका विद्यालय भरिभराउ र गाउँका विद्यालय खस्कँदो रहेको समेत उनले बताए ।

धनकुटाका अधिकांश बजार क्षेत्रका सामुदायिक विद्यालयले सवारीसाधन खरिद गरेका छन् । विद्यार्थीको चाप बढेकाले स्कुल बस सञ्चालन गर्नुपरेको गोकुण्डेश्वर बालमन्दिर माविका प्रधानाध्यापक दामोदर मिश्र बताए ।

यस्तै, महालक्ष्मी नगरपालिकाको जनता माविले पनि स्कुल बस सञ्चालन गरेको प्रअ नगेन्द्र भट्टराईले बताए । निजामती विद्यालयले पनि सवारीसाधन सञ्चालन गर्दै आएको छ । कान्तिपुर दैनिकबाट