सुदूरपश्चिम लोकसेवा आयोगले खोल्यो पहिलोपटक विज्ञापन (विज्ञापन-सहित)

Image

धनगढी ।

सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगले पहिलोपटक विज्ञापन खुलाएको छ। स्थायी पदपूर्ति गर्न आयोगले बुधबार कर्मचारीको विज्ञापन खोलेको हो।

आयोगले प्रदेश निजामती सेवाअन्तर्गत नेपाल वन सेवा, जनरल फरेष्ट्री समूह, तहविहीन, वन रक्षक पदको खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको विज्ञापन आह्वान गरेको छ । प्रदेशमा रिक्त स्थायी पदपूर्ति गर्ने गठित आयोगको आदेशानुसार स्थायी पदपूर्तिका लागि विज्ञापन गरिएको हो।

सुदूरपश्चिम प्रदेश, उद्योग, पर्यटन तथा वातावरण मन्त्रालयबाट माग भएर आएअनुसार आयोगले १६७ पदमा खुला तथा समावेशी कोटामा दरखास्त आह्वान गरेको हो । आयोगले खुलातर्फ ९२, महिला २५, आदिवासी/जनजाति २०, मधेसी १६, दलित ७, अपांग ४ र पिछडिएको क्षेत्रबाट ३ गरी १६७ कोटा छुट्याएको छ । योग्यता पुगेका नेपाली नागरिकले २९ चैतसम्म नियमित र दोब्बर दस्तुरमा ६ वैशाखसम्म अनलाइनमार्फत् आवेदन दिन पाउनेछन् । कक्षा ८ उत्तीर्ण भएर शारिरिक तन्दुरुस्ती भएका १८ वर्षदेखि ३५ वर्ष उमेर समूहकाले दरखास्त दिन पाउने सूचनामा उल्लेख छ ।

प्रदेश लोकसेवा आयोग सुदूरपश्चिमले फागुन दोस्रो साता मात्रै वार्षिक कार्यतालिका सार्वजनिक गरेको थियो। तालिकाअनुसार वन सेवा, जनरल फरेष्टी, वन रक्षक र तहविहीन समूहतर्फ फागुनमा माग आकृति फाराम प्राप्त गर्ने, फागुनमै प्रतिशत निर्धारण गर्ने र चैतको दोस्रो बुधबार विज्ञापन खोल्ने उल्लेख थियो।

यस्तै विभिन्न सेवाका सहायकस्तर पाँचौ तहका प्राविधिक पदहरुका लागि फागुनमा माग आकृति फाराम प्राप्त गर्ने, चैतमै प्रतिशत निर्धारण गर्ने र बैशाख दोस्रो बुधबार विज्ञापन खोल्ने सार्वजनिक कार्यतालिकामा उल्लेख छ।

सहायकस्तर पाँचौ तहका प्राविधिक पदहरुतर्फ चैतमा माग आकृति फाराम प्राप्त गर्ने, बैशाखमा प्रतिशत निर्धारण गर्ने र जेठ दोस्रो बुधबार विज्ञापन खोल्ने कार्यतालिका तयार भएको छ।