धनगढी ।
सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि ३६ अर्ब ७४ करोडको बजेट सार्वजनिक गरेको छ । सरकारका आर्थिक मामिलामन्त्री प्रकाश रावलले बुधबार बसेको प्रदेशसभा बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका हुन्।
बुधबारको प्रदेशसभा बैठकमा आर्थिक मामिला मन्त्री प्रकाश रावलले अगामी आर्थिक वर्षको वार्षिक बजेट तथा कार्यक्रम प्रस्तुत गर्दै ३६ अर्ब ७४ करोड बराबरको विनियोजन गरेको जानकारी दिएका छन् ।
रावलले चालु खर्चतर्फ कुल विनियोजित बजेटको ३३ दशमलव ४६ प्रतिशत हुनेगरि १२ अर्ब २९ करोड र पुँजीगत खर्चतर्फ २४ अर्ब १४ करोड ४७ लाख विनियोजन गरिएको बताए । पुँजीगततर्फ कुल विनियोजित बजेटको ६५ दशमलव ७४ प्रतिशत छुट्याइएको छ । वित्तिय हस्तान्तरणतर्फ एक अर्ब ३६ करोड बजेट विनियोजन गरेको छ ।
आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक राजश्वबाट २ अर्ब, चालु आर्थिक बर्षमा खर्चबाट बचत हुने अनुमानित रकम ७ अर्ब, संघीय सरकारबाट राजश्व बाँडफाँट वापत प्राप्त हुन आएको रकम ९ अर्ब ६० करोड, वित्तीय समानीकरण अनुदानबाट प्राप्त हुन आएको ९ अर्ब २० करोड, सशर्त अनुदानबाट ६ अर्ब र संघीय रोयल्टीबाट ४ करोड २८ लाख रकम परिचालन गरिने मन्त्री रावलले जानकारी दिए ।
प्रदेशका आर्थिक मामिलामन्त्री रावलका अनुसार सडक पूर्वाधारका लागि ५ अर्ब ६० करोड ११ लाख बजेट विनियोजन गरिएको हो। यस्तै प्रदेशमा खानेपानी संरचना निर्माण तथा पुन:निर्माणका लागि १ अर्ब ६७ करोड ९७ लाख र स्वास्थ्य सेवा सुधारका लागि १ अर्ब ६ करोड २६ लाख बजेट विनियोजन गरिएको छ। स्वास्थ्य क्षेत्रतर्फ प्रदेशमा रहेका प्रादेशिक र जिल्ला अस्पतालमा सेवा विस्तारको योजना अटाएका छन्।
प्रदेश सरकारले शिक्षा क्षेत्रका लागि १ अर्ब २३ करोड ७३ लाख बजेट विनियोजन गरेको छ। शिक्षाको गुणस्तर सुधार, आधुनिक पूर्वाधार निर्माण र शैक्षिक जनशक्तिको क्षमता सुधारका लागि प्रदेश प्रमुख शैक्षिक सुधार कार्यक्रमअन्तर्गत उक्त बजेट विनियोजन भएको हो।
सुदूरपश्चिम प्रदेश सरकारको प्राथमिकतामा खेलकुद क्षेत्र भने नपरेको पाइएको छ। अघिल्लो आर्थिक वर्षको भन्दा बजेट बढाइएको भए पनि खेल क्षेत्रका लागि पर्याप्त हुने देखिएको छैन। अर्थमन्त्री रावलका अनुसार सुदूरपश्चिमको खेल क्षेत्रका लागि प्रदेश सरकारल १६ करोड २० लाख बजेट विनियोजन गरेको छ।
राष्ट्रिय खेलकुदको तयारी र खेलाडी छनोटका लागि ९० लाख मात्रै विनियोजन गरिएको छ। सामाजिक विकास क्षेत्रका लागि भने ६ अर्ब बढी बजेट विनियोजन गरिएको छ। यस्तै डोटी र डडेल्धुरा जिल्लाका यातायात कार्यालयबाट अब सबै सेवा सञ्चालन गरिने भएको छ।
ती कार्यालयबाट लाइसेन्स वितरणदेखि कर बुझाउन पनि पाइने अर्थमन्त्री रावलले बताए। यस्तै प्रदेश सरकारले सुदूरपश्चिम स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालन गर्ने भएको छ। प्रदेशका आर्थिक मामिलामन्त्री रावलका अनुसार आगामी आर्थिक वर्षभित्रै स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालन गर्न बजेट विनियोजन गरिएको हो।
बजेट भाषण हेर्न यहाँ क्लिक गर्नुस्

















