डडेलधुरा ।
कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा २०४८ देखिको आफ्नो किल्ला जोगाउन यसपटक पनि सफल भएका छन् । देउवाले २५ हजार ५३४ मतसहित आफ्नो किल्ला जोगाएर अपराजित यात्रा कायम राखेका हुन् । सातौंपटक विजयी हुने क्रममा देउवाले स्वतन्त्र उमेदवार सागर ढकाललाई पराजित गरे ।
ढकालले १३ हजार ४२ मत पाए भने नेपाली कांग्रेस वीपीका कर्णबहादुर मल्लले ७ हजार ५३५ मत पाए । देउवा यसअघि ०४८, ०५१, ०५६, ६४, ०७० र ०७४ मा डडेलधुरा जिल्लाबाट विजयी भइसकेका छन् । विद्यार्थी जीवनमै उच्च शिक्षा अध्ययनका सिलसिलामा डडेलधुराको असिग्राम रुवाखोलाबाट राजधानी छिरेका देउवा ०४८ मा मात्र चुनाव लड्न गृहजिल्ला पुगेका थिए । यद्यपि ०४२ को बमकाण्डमा देउवाको नाम पनि चर्चित भएको थियो । ०५१ को मध्यावधि चुनावमा राष्ट्रिय जनमोर्चाका खेमराज भट्ट ‘मायालु’ देउवाका लागि चुनौती बनेका थिए । देउवाले उनलाई ०५६ मा कांग्रेस भित्र्याएका थिए ।
प्रधानमन्त्री देउवालाई जित्न अति नै कठिन बन्यो ०६४ को संविधानसभा निर्वाचन । माओवादी नेता खगराज भट्ट उनका प्रतिस्पर्धा थिए । करिब १३ सय मतान्तरले देउवा जिते । त्यसपछिका अन्य दुई चुनावमा पनि देउवाले खगराजलाई पराजित गरेका थिए ।

















