बैतडी ।
बैतडीको पाटन नगरपालिकाको नवनिर्मित भवनमा गुणस्तरहीन सामग्री प्रयोग भएको पाइएको छ । पाटन नगरपालिकाका जनप्रतिनिधिहरुले अनुगमन गर्दा भवन निर्माण गुणस्तरहीन सामग्री प्रयोग भएको पाइएको हो ।
पाटन नगरपालिकाका उपप्रमुख कमलसिंह बोहराको संयोजकत्वमा रहेको अनुगमन टोलीले नगरपालिका भवन अनुगमन गर्दा भवन निर्माणमा सिमेन्टको कम प्रयोग गरेको पाइएको छ । नगर उपप्रमुखले आँफैले हथौडाको प्रयोग गरेर भवनको फर्स हेर्दा सिमेन्ट कम प्रयोग गरेको पाइएको छ । उपप्रमुख बोहराले भने ‘भवनको फर्स हेर्दा भित्र बालुवामात्रै देखिएको छ । निर्माण कार्यमा निकै कमजोरी देखिएको छ ।’
नगरपालिकाको चारतले भवन मध्ये माथिल्लो दुई तला शिवलिंग प्रशंसा जेभीले निर्माण गरिरहेको छ । भवन निर्माण कार्य सम्पन्न हुनै लाग्दा भवनको अनुगमन गरिएको हो । पाटन नगरपालिकाको आफ्नै भवनमा यस्तो लापरवाही देखिएपछि त्यहाँ कार्यरत प्राविधिक कर्मचारीहरुमाथि समेत प्रश्न उठेको छ । रातदिन प्राविधिक भएको ठाउँमा निर्माण कम्पनीले यति कमसल संरचना बनाउँदा समेत ध्यान नदिएको भन्दै उनीहरुको आलोचना भएको छ ।
२ करोड ८० लाखमा ठेक्का सम्झौता भइ निर्माण भइरहेको भवनमा अनुगमन गर्दा कमसल सामग्री प्रयोग भएको फेला परेको नगरपालिकाका इन्जिनियर राजेन्द्रसिंह ठगुन्नाले स्वीकार गरे । निर्माण कम्पनीले भवनको फर्समा कम सिमेन्ट प्रयोग भएको पाइएको उनले बताए । उनले भने ‘अब निर्माण कम्पनीलाई पत्र लेखेर कमसल सामग्री प्रयोग भएको ठाउँमा फेरी काम गर्न निर्देशन दिन्छौं । अहिले भवन निर्माण कम्पनीले पालिकालाई बुझाएको छैन् । बिग्रेको ठाउँमा फेरी काम गर्न भन्छौं ।’
निर्माण कम्पनीलाई अहिले सम्म १ करोड ३० लाख भुक्तानी भइसकेको छ भने अरु भुक्तानी हुन बाँकी रहेको छ ।
सार्वजनिक निर्माणका काम गुणस्तरहीन बनाइन्छन् भन्ने कुरालाई थप बल दिँदै नगरपालिकाकै आफ्नो भवनको यस्तो हालत हुँदा अरु ठाउँका संरचनामा के होला भन्ने प्रश्न खडा भएको छ । नगरपालिकाकै भवनको यस्तो हालत हुँदा अरु सार्वजनिक निर्माणका काममा समेत प्रश्न उठेको जिल्ला समन्वय समितिका सदस्य प्रेमसिंह भाटले बताए । उनले भने ‘निर्माणका कामहरु गुणस्तरीय गर्दैनन् भन्ने यो भन्दा गतिलो उदाहरण के हुन सक्छ । यस्तो काममा संलग्न सबैलाई कारवाही गनुपर्छ ।’
यस्तै निर्वाचित भैसकेपछी पहिलो पटक औपचारिक रुपमा पाटन नगरपालिकाको टिमले ९ नम्बर वडा कार्यालय, ९ मै रहेको आधारभुत स्वास्थ्य सेवा केन्द्र टकरे श्री जनपृय आधारभूत बिद्यालय काकस्यालि र श्री ज्ञानेश्वर मा.बी विजयपुरको पनि सयुक्त अनुगमन गरिएको समेत जिल्ला समन्वय समितिका सदस्य भाटले बताए । पछिल्लो समय नगरपालिकाले अनुगमनलाई तिब्रता दिएको पालिकाले जनाएको छ ।