भीमफेदी बनाउँदै ‘पेन्सनमय गाउँपालिका’, १९७ श्रमिक सामाजिक सुरक्षा कोषमा आबद्ध

Image

हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिकाले अनौपचारिक क्षेत्रका श्रमिक तथा स्वरोजगारमा संलग्न नागरिकहरूको सामाजिक सुरक्षाका लागि ऐतिहासिक पहल गर्दै ‘पेन्सनमय गाउँपालिका’ अभियान सुरु गरेको छ। गाउँपालिकाले सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउँदै स्थानीय तहबाट सामाजिक सुरक्षा योजना प्रभावकारी रूपमा कार्यान्वयन गर्ने नेपालकै पहिलो अभ्यास भएको दाबी गरेको छ।

२०८२ साल ९ महिना २८ गते आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष हिदम लामाले संविधानमा व्यवस्था भए पनि लामो समयसम्म कार्यान्वयनमा आउन नसकेको सामाजिक सुरक्षा योजनालाई भीमफेदी गाउँपालिकाले व्यवहारमा उतारेको बताउनुभयो। उहाँका अनुसार अब गाउँ–गाउँमा सेवा दिँदै आएका महिला स्वास्थ्य स्वयंसेविकाहरूले समेत पेन्सन सुविधा प्राप्त गर्नेछन्।

अध्यक्ष लामाले भीमफेदी गाउँपालिकालाई ‘पेन्सनमय गाउँपालिका’का रूपमा विकास गर्ने लक्ष्य लिइएको उल्लेख गर्दै यो कार्यक्रम विशेषगरी गरिब, श्रमजीवी तथा निम्न आय भएका वर्गका लागि लक्षित गरिएको बताउनुभयो। सामाजिक सुरक्षा कार्यक्रमले मानवअधिकार, मौलिक हकको कार्यान्वयन, गरिबी निवारण, सामाजिक न्याय तथा लोककल्याणकारी राज्य निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउने उहाँको भनाइ थियो।

कार्यक्रमका प्रमुख उद्देश्यहरूमा अनौपचारिक तथा स्वरोजगार क्षेत्रमा कार्यरत श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने, बचत गर्ने संस्कार विकास गर्ने, सम्भावित जोखिम न्यूनीकरण गर्ने तथा औषधि उपचार, स्वास्थ्य, मातृत्व, दुर्घटना, अशक्तता, आश्रित परिवार र वृद्धावस्था सुरक्षाको सुनिश्चितता गर्ने रहेका छन्।

भीमफेदी गाउँपालिका रोजगार सहायक बिन्दु माया थिङका अनुसार कार्यक्रममा गाउँपालिकाका ९ वटै वडाबाट ४८ जना सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरूको सहभागिता रहेको थियो।

हालसम्म भएका प्रमुख कार्यहरू
• २०८०/०४/३० मा सामाजिक सुरक्षा कोषसँग सम्झौता सम्पन्न
• कर्मचारी तथा जनप्रतिनिधिहरूका लागि अभिमुखीकरण कार्यक्रम सञ्चालन
• २०८०/०९/१५ मा सामाजिक सुरक्षा कोषका निर्देशक तथा उपनिर्देशकद्वारा योगदानकर्ताहरूलाई अभिमुखीकरण
• २०८०/१०/१३ मा सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्यतामा औपचारिक रूपमा श्रमिकहरूलाई कोषमा आबद्ध गराइयो
• २०८१/११/२६ मा बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङको प्रमुख आतिथ्यतामा आबद्धता कार्यक्रम सम्पन्न
• आ.व. २०८०/०८१ मा ९८ जना
• आ.व. २०८१/०८२ मा ९९ जना

हालसम्म भीमफेदी गाउँपालिकामा कुल १९७ जना अनौपचारिक क्षेत्रका श्रमिक सामाजिक सुरक्षा कोषमा आबद्ध भइसकेका छन्।
क्षेत्रगत रूपमा आबद्ध श्रमिक संख्या
• कृषि क्षेत्र: १०१ जना
• निर्माण क्षेत्र: ४२ जना
• यातायात क्षेत्र: ३४ जना
• घरेलु तथा अन्य क्षेत्र: २० जना
जम्मा: १९७ जना रहेको अध्यक्ष लामाले बताउनुभयो।