काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९३६ ग्राम अवैध सुनसहित दुईजना विदेशी नागरिक पक्राउ परेका छन् । सोमबार विमानस्थलको आगमन टनेल गेटबाट करिब ७७ लाख बराबरको सुनसहित उनीहरूलाई पक्राउ गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयले जनाएको छ ।
पक्राउ पर्नेमा बंगलादेशका मोहम्मद तोफिकी उल्ला र भारतका पारशनाथ साह रहेका छन् ।
उनीहरू हिमालय एयरलाइन्सको विमानमा दुबईबाट काठमाडौं आएको प्रहरीले जनाएको छ ।
प्रहरीको टोलीले चेकजाँच गर्ने क्रममा बंगलादेशी नागरिकले लगाएको पाइन्टको कम्मरको भागमा फल्स बटम बनाएर पेटी आकारको अर्धठोस सुन अवैध रूपमा लुकाएको अवस्थामा फेला परेको हो ।
बंगलादेशी नागरिकले भारतीय नागरिकले भन्सार छली गर्न लगाएको खुलाएपछि भारतीय नागरिकसमेतलाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।
उनीहरूलाई थप अनुसन्धानका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको छ ।