साधारण शेयर निष्काशनका लागि तीन लघुवित्त वित्तीय संस्थाले नियमक निकाय नेपाल धित्तोपत्र बोर्डको अनुमतिको पर्खाइमा रहेका छन् । आइपीओ निष्काशनका लागि आदर्श लघुवित्त वित्तीय संस्था, सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था र उपकार लघुवित्त वित्तीय संस्थाले बोर्डमा निवेदन पेश गरेका हुन् ।
यी तीन वटै कम्पनीले बोर्डबाट अनुमति पाएपछि आईपीओ निष्काशन गर्नेछ । यी तीन कम्पनीले चालु आर्थिक वर्ष २०७८।७९ को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् ।
वित्तीय अवस्था कुनको कस्तो छ ?
१. उपकार लघुवित्त
यस कम्पनीले चालु आर्थिक वर्ष २०७८।७९ को १ करोड ८८ लाख ४३ हजार रुपैयाँ नाफा गरेको छ । कम्पनीको यो नाफा गत वर्षको सोही अवधिका तुलनामा भने ५२ दशमलव ०६ प्रतिशतले कमी हो । गत वर्षको पुस मसान्तसम्ममा कम्पनीले ३ करोड ९३ लाख १० हजार रुपैयाँ नाफा गरेको थियो । उक्त अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ७।२३ प्रतिशतले वृद्धि भएर ६ करोड ६० लाख ६४ हजार रुपैयाँ पुगेको छ । गत वर्षको पुस मसान्तसम्ममा कम्पनीको यो आम्दानी ६ करोड १६ लाख ४ हजार रुपैयाँ रहेको थियो ।
गत वर्षको पुस मसान्तसम्ममा ३४ करोड ११ लाख २८ हजार रुपैयाँ नोक्सानीमा रहेको कम्पनीको संचालना मुनाफा यस वर्षको सोही अवधिमा भने २ करोड २६ लाख ६५ हजार धनात्मक रहेको छ ।कम्पनीको चुक्ता पुँजी ४ करोड २० लाख रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा भने १४ करोड ५८ लाख १२ करोड रुपैयाँ राखेको छ । उक्त अवधिमा कम्पनीले खराब कर्जा पनि घटाएको छ । गत वर्षको पुस मसान्तसम्ममा ३ दशमलव २२ प्रतिशत रहेको खराब कर्जा यस वर्षको सोही अवधिमा भने घटेर २ दशमलव ०२ प्रतिशतमा झारेको छ ।
कम्पनीले २ करोड ६६ लाख २५ हजार रुपैयाँ बराबरको २ लाख ६६ हजार २५० कित्ता आईपीओ निष्काशन गर्ने तयारीमा रहेको छ । आईपीओ निष्काशनका लागि कम्पनीले गत साउन १३ गते नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गरेको छ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग रहेको छ ।
२. आदर्श लघुवित्त
यस कम्पनीले चालु आर्थिक वर्ष २०७८।७९ को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । आईपीओ निष्काशनको तयारीमा रहेको कम्पनीले गत वर्षको पुस मसान्तमा कम्पनीले ६ लाख ४१ हजार रुपैयाँ मात्रै नाफा कमाएको यस कम्पनीले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा १४ लाख ७० हजार रुपैयाँ नाफा कमाएको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा भने १ सय २९ दशमलव ३२ प्रतिशतले बढी हो ।
उक्त अवधिमा कम्पनीको खुद ब्याज आम्दानी पनि ३८ दशमलव ६७ प्रतिशतले वृद्धि भई ९४ लाख ६९ हजार रुपैयाँ पुगेको छ । कम्पनीको चालु आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको संचालन मुनाफा १७ लाख २९ हजार रुपैयाँ रहेको छ । गत वर्षको सोही अवधिमा तुलनामा कम्पनीकोयो मुनाफा ७१ दशमलव ५२ प्रतिशतले वृद्धि भएको हो ।
कम्पनीको चुक्ता पुँजी १ करोड ४० लाख रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा ७६ लाख ६ हजार रुपैयाँ राखेको छ । उक्त अवधिमा कम्पनीले खराब कर्जा पनि घटाएको छ । गत वर्षको पुस मसान्तमा २ दशमलव २४ प्रतिशत रहेको खराब कर्जा यस वर्षको सोही अवधिमा भने घटाएर १ दशमलव ५६ प्रतिशतमा झारेको छ ।
कम्पनीले ६० लाख रुपैयाँ बराबरको ६० हजार कित्ता आईपीओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले गत असोज २० गते बोर्डमा निवेदन दिएको हो । यसका साथ बोर्डबाट स्वीकृत पाएपछि कम्पनीको आईपीओ निष्काशन तथा बिक्री खुला हुनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा बिओके क्यापिटल लिमिटेड रहेको छ ।
३. सीवाईसी नेपाल लघुवित्त
यस संस्थाले चालु आर्थिक वर्ष २०७८।७९ को दोस्रो त्रैमासमा करिब पौने ६ करोड नाफा कमाएको छ । विवरण अनुसार कम्पनीले उक्त अवधिमा ५ करोड ८१ लाख ६५ हजार रुपैयाँ नाफा कमाएको हो । जुन गत वर्षको सोही अवधिको तुलनामा भने ६० प्रतिशतले बढी हो । गत वर्षको पुस मसान्तसम्ममा कम्पनीले ३ करोड ६३ लाख ३६ हजार रुपैयाँ नाफा कमाएको थियो ।
कम्पनीको उक्त अवधिमा खुद ब्याज आम्दानी १० करोड ४० लाख ८० हजार रुपैयाँ रहेको छ । कम्पनीले गत वर्षको पुस मसान्तमा भने ६ करोड ७५ लाख २५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीको संचालन मुनाफा २३ दशमलव २१ प्रतिशतले घटेर २ करोड ८१ लाख २२ हजार रुपैयाँ कायम भएको छ । यो नाफा गत वर्षको सोही अवधिमा भने ३ करोड ३६ लाख २४ हजार रुपैयाँ रहेको थियो ।
कम्पनीको चुक्ता पुँजी ८ करोड २१ लाख ८ हजार रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा भने १५ करोड २८ लाख २९ हजार रुपैयाँ राखेको छ । उक्त अवधिमा कम्पनीले खराब कर्जा भने घटाएको छ । गत वर्षको पुस मसान्तसम्ममा ४ दशमलव ३७ प्रतिशत रहेको खराब कर्जा यस वर्षको सोही अवधिमा भने घटाएर १ दशलव ९२ प्रतिशतमा झारेको छ ।
यसका साथै कम्पनीले ३ करोड ९५ लाख ३३ हजार ६ सय रुपैयाँ बराबरको आईपीओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । बोर्डबाट अनुमति पाएपछि कम्पनीले ३ लाख ९५ हजार ३३६ कित्ता आइपीओ निष्काशन गर्नेछ ।