काठमाडौं
नेपालमा शेयर बजारको चर्चा दिन प्रतिदिन बढ्दै गइरहेको छ । नेपाल पूर्वाधार विकास बैंकको शेयर आएसँगै यसको चर्चा चुलिएको हो । अहिले दैनिक जसाे डिम्याट र मेराेसेयर प्रयाेगकर्ता बढीरहेका छन् ।
गत आर्थिक वर्षको असारसम्ममा करिब ३७ लाख रहेको हितग्राही खाता (डिम्याट खाता) चालु आवको फागुन १६ गतेसम्म ५० लाख नाघेको छ ।
सीडीएस एण्ड क्लियरिङ लिमिटेडले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार हाल डिम्याट खाताको संख्या ५० लाख ७ हजार २४२ रहेको छ । डिम्याट खातासँर्गै मेरो सेयर खाता खोल्नेको संख्यासमेत ह्वात्तै बढेको छ ।
सीडीएसका अनुसार मेरो सेयर लिनेको ४१ लाख नाघेको छ । पछिल्लो समय डिम्याट र मेरो सेयर खाता लिनेको संख्या ह्वात्तै बढिरहेको छ । प्रत्येकजसो आइपीओ खुल्दा डिम्याट र मेरो सेयर लिनेको संख्या बढिरहेको हुन्छ ।
आइपीओ भर्न डिम्याट खाता अनिवार्य हुन्छ । गत असार मसान्तसम्म २८ लाख ५५ हजार रहेको मेरो सेयर लिनेको संख्या अहिले ४१ लाख १९ हजारभन्दा बढी पुगेको छ ।
त्यस्तै, नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त गरी सर्वसाधारण लगानीकर्तालाई केन्द्रीय निक्षेप सेवा सहज बनाउन तथा सेयरको अभिलेखीकरण कार्य गर्नका लागि निक्षेप सदस्य सेवा प्रवाह गर्ने हरुको संख्या पनि वृद्धि भएको छ ।
यस्तो संख्या गत आवको अन्त्यमा ७८ रहेकामा अहिले ८२ पुगेको छ । डिम्याट र मेरो सेयर प्रयोगकर्ता बढ्नुको अर्थ अहिले पुँजी बजारमा आकर्षित हुनेहरुको संख्या पनि वृद्धि भइरहेको बुझ्न सकिन्छ ।
पछिल्लो समय कुनै पनि कम्पनीले निष्काशन गर्ने आइपीओमा २७ लाखभन्दा बढीले आवेदन दिन थालिसकेका छन् । प्रविधिको विकास र विस्तारले धितोपत्र बजारमा कारोबार गर्नेको संख्या बढेको धितोपत्र बोर्डको भनाई छ ।
बोर्डलगायत धितोपत्र बजारसम्बद्ध निकायहरूबाट बजारलाई प्रविधिमैत्री, लगानीमैत्री एवं देशव्यापी बनाउन विभिन्न काम भएका छन् । बोर्डबाट धितोपत्रको पूर्ण अभौतिक कारोबार हुने व्यवस्था, नेप्सेको कारोबार अनलाइनबाट हुने व्यवस्था रहेको छ ।
यस्तै, प्राथमिक बजारमा आस्वा तथा सी–आस्वा प्रणाली लागू, उपत्यका बाहिर धितोपत्र दलाल तथा मर्चेन्ट बैंकरको शाखा विस्तार गर्नका लागि आवश्यक नीतिगत व्यवस्थाहरू गरेसँगै बजारमा सर्वसाधारणको सहभागिता व्यापक तथा उत्साहजनक रहेको धितोपत्र बोर्ड बताउँछ ।