कांग्रेस कैलाली सभापतिको दोस्रो चरणको निर्वाचन आज

Image

धनगढी

नेपाली कांग्रेस कैलाली सभापति पदकालागि दोस्रो चरणको निर्वाचन आज हुने जनाइएको छ। आज (बिहीबार) हुन लागेको सभापति पदका लागि दोस्रो चरणको मतदानका लागि धनगढीस्थित कैलाली उद्योग वाणिज्य संघको सभाहलमा हुने जनाइएको हो।

निर्वाचन समितिले आज बिहान ८ बजेदेखि संघको सभाहलमा मतदान गरिने सूचना जारी गरेको छ । पहिलो चरणमा भएको निर्वाचनमा प्रकाश बम, नारायणदत्त भट्ट र रामबहादुर कलेल प्रतिस्पर्धामा उत्रिएका थिए। सोमबार सकिएको मतगणनाअनुसार बमले एक हजार १६९, भट्टले एक हजार ७२ र कलेलले १९७ मत प्राप्त गरेका थिए।

तर, कसैको पनि ५० प्रतिशतभन्दा बढी मत नआएकाले दोस्रो चरणमा बम र भट्टबीच प्रतिस्पर्धा हुँदैछ । साथै डा शेखर कोइरालानिकट उम्मेदवार कलेलले भने दोस्रो चरणमा बमलाई समर्थन गर्ने भएका छन्। निर्वाचन समितिले सोही अनुसार संघको प्राङ्गणमा मतदानको तयारी थालेको छ । मतदानलाई सभ्य, निष्पक्ष बनाउन मतदाताहरुमा कडाई गरिएको छ । पहिलो चरणमा पार्टीले वितरण गरेको कार्ड लिएर मतदाताहरुले मतदान गरेका थिए ।

सो समयमा एकै जनाले अन्यको नाममा धमाधम मतदान गरेको प्रतिष्पर्धामा रहेका संस्थापन पक्षका दुबै उम्मेदवारहरुको आरोप रहेको थियो। दोस्रो चरणमा त्यस्तो हुन नदिन परिचय खुल्ने कार्ड अनिवार्य गरिएको छ। अधिवेशन मुल समारोह समितिका संयोजक तथा प्रदेश महामन्त्री नरनारायण शाह मनुले जारी गरेको सूचनामा भनिएको छ –‘ आज हुने दोस्रो चरणको मतदानका लागि सहभागिहरुले आ–आफ्नो परिचयपत्र, नागरिकता वा परिचय खुल्ने कार्ड लिएर पाल्नुहुन जानकारी गराउदछौं ।’ दोस्रो चरणको निर्वाचनमा पूर्व उपसभापति तथा जनआन्दोलनका घाइते नेता नारायणदत्त भट्ट र पार्टीका वर्तमान उपसभापति प्रकाश बमबिच प्रतिष्पर्धा हुने छ ।