बैतडी; स्वास्थ्य कार्यालयले आयोजना गरिएको शिविरमा ७ सय भन्दा बढी विद्यार्थीहरुले सेवा लिए

Image

बैतडी।

स्वास्थ्य कार्यालय बैतडीले आयोजना गरेको स्वास्थ्य शिविरमा बैतडीका ७ सय ५० विद्यार्थीले सेवा लिएका छन् । जिल्लाको सिगास गाउँपालिकाको ढुंगाडस्थित शारदा मा.विमा सञ्चालन गरिएको शिविरमा विद्यार्थीहरुले स्वास्थ्य जाँच गरेका छन ।

शुक्रबार आयोजना गरिएको शिविरमा २५५ जना विद्यार्थीको कान, २८४ जना विद्यार्थीको आँखा र २११ जना विद्यार्थीको दाँतको चेकजाँच गरिएको गराएको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक भुवनप्रसाद जोशीले बताए । आँखा, कान र दाँतमा समस्या भएका विद्यार्थीहरुलाई विद्यालयमै स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविरको आयोजना गरिएको जोशीले बताए ।

अहिले सम्म जिल्लाका ९ ओटा स्थानीय तहमा शिविरमा सञ्चालन गरिसकिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए । प्रत्येक स्थानीय तहका एक/एक विद्यालयमा शिविर सञ्चालन गर्ने कार्यक्रम अनुसार विद्यालयहरुमा स्वास्थ्य शिविर सञ्चालन गरिएको भट्टले बताए । अब शिवनाथ गाउँपालिकाको एक विद्यालयमा शिविरको आयोजना गर्ने तयारी भएको उनले बताए ।

यस्तै दुर्गम क्षेत्रका बालबालिकाहरुको स्वास्थ्य सेवामा पहुँच पुर्याउने उद्देश्य सहित शिविरको आयोजना गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लाका दुर्गम क्षेत्रका विद्यालयहरुमा आवश्यकता अनुसार शिविर सञ्चालन गर्दै जाने स्वास्थ्य कार्यालयले जनाएको छ ।