आरती यादव भन्नुहुन्छ “सरल र साधारण भाषामा महिला भनेको स्त्री, नारी, दिदी, बहिनी, आमा, हजुरआमा” आदि भन्ने बुझिन्छ भने सशक्तीकरण भन्नाले “स्रोत साधन र अधिकार प्रयोग गरेर सबल बन्नु बनाउनु” भन्ने बुझिन्छ। अर्थात् सारमा भन्नुपर्दा महिला सशक्तीकरण भन्नाले सामान्य रुपमा “महिला परनिर्भर नभई आत्मनिर्भर रुपमा आफनो खुट्टामा आफै उभिनु हो स्वतन्त्र हुनु हो।”
आजको युग भनेको एक्काइसौं शताब्दीको युग हो। अहिलेको समयमा धेरैजसो मानिसहरु शिक्षित छन् तर पनि महिला सशक्तीकरण राम्ररी कार्यान्वयन भएको पाइँदैन।
कतिपय पुरुषहरु किताबी हिसाबले शिक्षित त भएका छन् तर पनि जानाजान महिलालाई दोस्रो दर्जामा राख्नुपर्छ भन्ने सोंचले महिला सशक्तीकरणकाे मुद्दा पेचिलाे भई कार्यान्वयन हुन पाइरहेको छैन भने समाज पिछडिएकाे हुनु, शिक्षाको कमीले समाजका मानिस अशिक्षित हुनुकाे कारणले पनि यो बारे जानकारी नभएर कार्यान्वयन हुन सकिरहेको छैन।
काठमाडौं र पाेखरा जस्ता शहरमा यस्ता प्रकारका समस्या न होलान् तर सुदूरपश्चिम, कर्णाली, हिमाली भेक र तराईका धेरै भूभागमा यो एउटा जल्दोबल्दो समस्याको रुपमा देखिएको छ।
कतै दाइजो नल्याएको निहुँमा त कतै छोरी मात्रै जन्माएकाे निहुँमा महिलालाई विभिन्न किसिमका यातनाहरु दिने गरिएको छ ।
अहिले पनि कति छोरी चेलीहरु सुरक्षित छैनन्। दिनहुँजसो प्रहरी चाैकीमा ११० वटा जति पर्ने गरेका मुद्दा र उजुरीमा ७०% जति मुद्दा र उजुरी महिलाका समस्यासँग जोडिएका हुन्छन्।
महान व्यक्तित्व महात्मा गान्धीले भन्नुभएको थियो “महिला सशक्तीकरण त्यतिबेला मात्र भएको मानिन्छ जतिबेला महिला पनि पुरुष जस्तै उज्यालोमा मात्रै हाेईन अँध्यारोमा पनि स्वतन्त्र भएर हिड्न सक्छन्।” अहिलेको सचेत युगमा पनि यो भनाइ अहिलेसम्म लागू हुन नसक्नु महा विडम्बनाकाे कुरा हाे। उज्यालोमा त महिलाहरुलाई स्वतन्त्रता छैन भने अँध्यारोमा त झन् आकाशको फल आँखा तरी मर जस्तै भएको छ। विज्ञहरु भन्छन् “छोरी चेलीहरु सडकमा सुरक्षित भएर हिंड्न् सकेका छैनन् भने छोरी मान्छे आमाको गर्भमा पनि सुरक्षित छैनन्। विभिन्न किसिमका डिजिटल उपकरणहरु प्रयोग गरेर भ्रुण परीक्षण गरी छाेरा वा छाेरी पत्ता लगाउँछन्। छोरा हो कि छोरी छोरी भन्ने थाहा पाएपछि कतिपयले गर्भपतन गर्ने, गराउने गरेका छन्।
महिलाहरु शारीरिक र मानसिक मात्र नभई सांस्कृतिक रुपमा पनि हेला भइरहेका छन्। संस्कृतिका नाममा विकृति फैलाउने काम भइरहेको छ। हाम्रो देशको पश्चिम भूभागमा महिलाहरु रजस्वला भएको बेला छाउपडी राखिन्छ भने कतै मन्दिरमा पनि छोरीलाई चढाइन्छ जसलाई देउकी भनिन्छ। जुन प्रथा अद्यपि कायम छ।
महिला सशक्तीकरण नभएको कारणले गर्दा जङ्गलमा घाँस दाउरा ल्याउन गएकी छोरी चेलीहरु सुरक्षित साथ घर आउँछिन् कि आउदिनन् भन्ने थाहा हुँदैन। अर्कोतिर बिहे गरेर गएकी छोरी चेलीलाई दाइजोको नाममा कतिखेर जिउँदै जल्नुपर्छ भन्ने थाहा हुँदैन।
हामीले कक्षा चार पाँचदेखि नै पढदै आएका “महिला पुरुष एउटै रथका दुई पाङ्गग्रा हुन्” भन्ने भनाइ कहिलेसम्म किताबका हरफमा मात्र सीमित नभई व्यवहारमा लागू हुन्छ?
समग्र देशकाे कुरै छाडाैं हामी आफ्नै घर, छर छिमेकी र पुरै समाजमा हेर्न सक्छौं। यदि महिलाले छोरा छोरीका लागि केही किन्नुपर्ने भएमा पुरुषसँग रुपैयाँ, पैसा माग्दा पुरुषले “कमाउन जान्दिनस् अनि जतिबेला पनि यो चाहियो त्याे चाहियो भनेर माग्छेस्? भन्ने ओंठे बाेली बाेल्छन्। यस्ता यावत् कारणले गर्दा महिलाकाे सशक्तीकरण हुनु अति आवश्यक र अनिवार्य देखिन्छ। हाम्रो वर्तमान संविधानकाे धारा ३८ मा महिलाको हक भनेर तोकिएको छ तर त्यो संविधानको कुरा संविधानमै सीमित गरिएको छ।
महिला सशक्तीकरण कायम गर्न के के गर्नु पर्ला?
आजको यो पेचिलाे विषयमा घाेत्लिनु र महिला सशक्तीकरणमा देखिएको समस्या सुल्झाउन एकदमै आवश्यक रहेको छ किनभने यो समस्या मात्रै घरपरिवार, समाज र राष्ट्रमा मात्रै नभई अन्य राष्ट्रमा पनि यस्तो समस्या विद्यमान रहेको छ त्यसैले सबैले चाहनु हुन्छ कि यो समस्या समाधान होस्, समाधान मात्रै नभएर जरैबाट उखेल्नु पर्छ। देशको परिवर्तन गर्नलाइ सबैभन्दा पहिला आफै र आफ्नो घरपरिवारबाट शुरु गर्नुहोस्। महिलाहरुले मात्रै यो समस्याको समाधान गर्न सक्दैनन्। यो समस्यालाई पुरुष र महिला एकबद्ध भएर, समान भएर हटाउनु पर्छ। महिलाहरु केही गर्न चाहन्छन् भने गर्न दिनुपर्छ। उनीहरुलाइ चुलो चौकामा मात्रै सीमित नराखेर अरु अरु काम काजमा पनि समावेश गर्ने प्रयास गर्नुपर्छ। म विभिन्न ठाउँ घुमें ती ठाँउहरु म पुग्दा विभिन्न मानिसहरु सँग भेटघाट हुन्छ। उनीहरूका कुरा सुन्दा धेरै सकारात्मक कुराहरू सिक्ने अवसर प्राप्त हुन्छ अनि अगाडि अझै केही सकारात्मक कामहरू गराैं भन्ने मनमा हिम्मत र अठोट जागृत हुन्छ।
यी यस्ता सकारात्मक कुराहरूले यस्ता समस्याहरुको उन्मुलन गर्नका लागि शुरुआत गर्न सकिन्छ। यो नभुलाैं परिवर्तनका लागि आफैबाट शुरुआत गरौं।
आरती यादव काठमाडौं ,कानुन सङकाय विद्यार्थी