हेटौंडा/ मकवानपुरको हेटौंडा ५ मा रहेको जेनिथ सेकेन्डरी स्कूलले नयाँ शैक्षिक सत्र २०८३ उत्साह र सकारात्मक वातावरणमा सुरु गरेको छ। विद्यालयका प्रधानाध्यापक श्रीबहादुर कार्कीले यस वर्ष शिक्षण–सिकाइ प्रक्रियालाई थप प्रभावकारी, व्यवहारिक र विद्यार्थी–केन्द्रित बनाउने लक्ष्य लिएको जानकारी दिनुभएको छ।
विद्यालयका प्रधानाध्यापक कार्कीका अनुसार यस वर्ष शिक्षणमा व्यवहारिक अभ्यासलाई विशेष प्राथमिकता दिइनेछ। साथै, डिजिटल शिक्षण सामग्रीको प्रयोगलाई विस्तार गर्दै शिक्षकहरूलाई आवश्यक तालिमसमेत प्रदान गरिएको छ, जसले सिकाइ प्रक्रियालाई अझ आधुनिक र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
विद्यार्थीमा अनुशासन, समयपालन तथा नैतिक मूल्यको विकासलाई विद्यालयले प्रमुख प्राथमिकतामा राखेको छ। यसका लागि नियमित अनुगमन, कक्षा व्यवस्थापन सुदृढीकरण तथा शिक्षकहरूको उत्तरदायित्व वृद्धि गर्ने कार्यक्रमहरू लागू गरिएका छन्।
विद्यालयले विद्यार्थीको सफलतामा अभिभावकको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै अभिभावक–शिक्षक अन्तरक्रिया कार्यक्रमलाई नियमित र व्यवस्थित बनाउने योजना अघि सारेको छ। यसले विद्यालय र घरबीचको सहकार्यलाई अझ सुदृढ बनाउने विश्वास गरिएको छ।
अतिरिक्त क्रियाकलापतर्फ विद्यालयले खेलकुद, सांस्कृतिक कार्यक्रम, नेतृत्व विकास तथा अन्य सिर्जनात्मक गतिविधिहरूलाई विशेष प्राथमिकता दिने जनाएको छ। यसमार्फत विद्यार्थीको समग्र विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ।
मूल्याङ्कन प्रणालीलाई पनि विद्यालयले पारदर्शी र व्यवस्थित बनाएको छ। निरन्तर मूल्याङ्कन प्रणालीमार्फत विद्यार्थीको नियमित प्रगति मूल्याङ्कन गरिने व्यवस्था गरिएको कार्कीले बताउनुभएको छ।
विद्यालयले आगामी दिनमा आफूलाई क्षेत्रकै उत्कृष्ट शैक्षिक संस्थाको रूपमा स्थापित गर्ने लक्ष्य राखेको छ। यसका लागि विद्यार्थीलाई ज्ञान, सीप र संस्कारयुक्त सक्षम नागरिक बनाउने दिशामा निरन्तर प्रयास जारी रहने प्राचार्यले बताउनुभएको छ।















