कतै सम्मान, कतै कारबाही

Image

हेटौंडा/ हेटौंडा देखिएको दृश्य एकै व्यक्तिलाई एउटै समाजले दुई फरक तराजुमा जोख्यो। सामाजिक अभियन्ताका रूपमा परिचित बिशाल राज महतलाई हेटौंडा उपमहानगरपालिका वडा नं. ५ को भवन उद्घाटन कार्यक्रममा सम्मान गरियो। कारण? उही पुरानै अनियमितता, बेथिति र भ्रष्टाचारविरुद्ध आवाज उठाउने । बिरामीको सहारा बन्ने, विद्यार्थीको अभिभावक बन्ने, र जनताको पक्षमा खबरदारी गर्ने जस्ता कार्यहरूको कदर गर्दै उनलाई माला र खादा ओढाइयो।

तर कथा यतिमै रोकिएन। सम्मानको फूल ओइलाउन नपाउँदै अर्को पाटोबाट कारबाहीको काँडा रोपियो। पछिल्लो समय हेटौंडा–काठमाडौं भिमफेदी सुरुङ मार्गमा जनताको पैसा डुबेको भन्दै “फिर्ता गर” अभियान चलाइरहेका महतलाई राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरले भने संगठित सदस्य समेत नरहने गरी कारबाहीको सिफारिस गरेको छ। अब प्रश्न उठ्छ—जनताको पैसा फिर्ता माग्नु, बेथिति बिरुद्ध बोल्नु जस्ता कार्यको निरन्तरता अपराध हो कि राजनीतिक अनुशासनको उल्लङ्घन?

अझ रोचक कुरा त के भने, एकातिर सम्मान भएका उनलाई सम्भावित भावी मेयरका रूपमा हेरिरहेको छ भने अर्कोतिर आफ्नै राजनीतिक घेराभित्रबाट ‘कारबाही’को उपहार दिइँदैछ। यसले देखाउँछ यहाँ योग्यताको मापन कामले होइन, कसको बाटोमा कति बाधा पुर्‍यायो भन्ने आधारमा हुने रहेछ।

स्थानीय स्तरमा चर्चा छ आसन्न निर्वाचन नजिकिँदै जाँदा केही पात्रहरूलाई महतको सक्रियता ‘असहज’ बन्दै गएको छ। त्यसैले होला, जहाँ सम्मानले उचालिन्छ, त्यहीँ कारबाहीले तानिन्छ।
अन्त्यमा प्रश्न यथावत् छ यो समाजमा आवाज उठाउनेलाई सम्मान गर्ने कि चुप लाग्न सिकाउने? कि दुवै सँगसँगै चलाउने नयाँ मोडल यही हो?