भीमफेदीमा ११६ श्रमिक सामाजिक सुरक्षा कोषमा आबद्ध, उपचार खर्चमा ठूलो राहत

Image

हेटौंडा/ मकवानपुरको भीमफेदी गाउँपालिका ले अनौपचारिक क्षेत्रका श्रमिक तथा सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकालाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउँदै उदाहरणीय पहल गरेको छ।

चालु आर्थिक वर्ष २०८२/०८३ मा विनियोजित ३० लाख रुपैयाँ बजेटबाट ११६ जनालाई कोषमा जोडिएको छ, जसमा ४७ जना स्वास्थ्य स्वयंसेविका र ७९ जना श्रमिक रहेका छन्।
बिहीबार आयोजित कार्यक्रममा इन्द्रबहादुर बानियाँ र जयराम थापा ले कोषमा आबद्ध श्रमिकहरूलाई परिचयपत्र वितरण गर्नुभएको थियो।

गाउँपालिकाले हालसम्म ३११ जना असंगठित क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराइसकेको छ। यस योजनाअन्तर्गत श्रमिकहरूले स्वास्थ्य उपचार, मातृत्व सुरक्षा, दुर्घटना तथा अशक्तता सुरक्षा, आश्रित परिवार सुरक्षा र वृद्धावस्था सुरक्षा जस्ता महत्वपूर्ण सुविधा पाउनेछन्।

कोषमा आबद्ध भएपछि उपचार खर्चमा उल्लेखनीय कमी आएको श्रमिकहरूको अनुभव छ। पहिले करिब १० हजार रुपैयाँसम्म लाग्ने उपचार अहिले करिब २ हजार रुपैयाँमै सम्भव भएको बताइएको छ।
योगदान प्रणालीअनुसार श्रमिकले न्यूनतम पारिश्रमिकको ११ प्रतिशत र गाउँपालिकाले ९.३५ प्रतिशत योगदान गर्दै कुल २०.३५ प्रतिशत अर्थात मासिक करिब २४७९ रुपैयाँ कोषमा जम्मा गर्ने व्यवस्था गरिएको छ।

२०८० साउन ३० गते सामाजिक सुरक्षा कोषसँग सम्झौता गर्दै सुरु गरिएको यो कार्यक्रमले भीमफेदी गाउँपालिकालाई नेपालमै अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा योजनामा आबद्ध गराउने पहिलो गाउँपालिकाका रूपमा स्थापित गरेको छ।

कार्यक्रम गाउँपालिका अध्यक्ष हिदम लामा को सभाध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा अन्य अतिथिहरूले पनि सामाजिक सुरक्षा कार्यक्रमको महत्वबारे धारणा राखेका थिए।