हेटौंडा/ मकवानपुरको हेटौंडा–५ स्थित जेनिथ सेकेन्डरी स्कुल सिटी कलेजले शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि गर्ने उद्देश्यसहित दुई दिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा विद्यालयका ३० जना शिक्षकहरूको सहभागिता रहेको थियो।
प्रशिक्षणमा प्रमुख प्रशिक्षकका रूपमा टिकाराम पोखरेल (पीएचडी) ले सहजीकरण गर्नुभएको थियो। उहाँले शिक्षण–सिकाइ प्रक्रियालाई विद्यार्थीमैत्री, व्यवहारिक र परिणाममुखी बनाउन आवश्यक विभिन्न विधि तथा सीपहरूबारे प्रशिक्षण दिनुभएको थियो।
कार्यक्रममा विशेषगरी कक्षाकोठामा प्रभावकारी प्रस्तुति, विद्यार्थीको मनोविज्ञान बुझ्ने तरिका, तथा कमजोर विद्यार्थीलाई सिकाइमा समेट्ने उपायहरूमा केन्द्रित अभ्यास गरिएको थियो। सहभागी शिक्षकहरूले प्रशिक्षणबाट सिकेका सीपलाई दैनिक शिक्षणमा प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
विद्यालयका प्रिन्सिपल श्रीबहादुर कार्कीले गुणस्तरीय शिक्षा सुनिश्चित गर्न शिक्षकको दक्षता अपरिहार्य रहेको बताउँदै यस्ता प्रशिक्षणले शिक्षण पद्धतिमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभयो। उहाँका अनुसार, हेटौंडाको सिटी कलेजको सहकार्यमा सञ्चालन गरिएको कार्यक्रमले विद्यालयको शैक्षिक स्तर उकास्न थप टेवा पुग्ने अपेक्षा गरिएको छ।
















