काठमाडौं ।
उपकार लघुवित्तको शुक्रबार चैत २५ गतेबाट सर्वसाधारणका लागि आइपीओ बिक्री खुला भएको छ । कम्पनीले २ करोड ३६ लाख २५ हजार रुपैयाँ बराबरको आइपीओ बिक्रीमा ल्याएको हो । यसले प्रतिकित्ता १०० अंकित मूल्यका दरले २ लाख ३६ हजार २५० कित्ता साधारण सेयर निष्कासन गरेको हो । योमध्ये ५% अर्थात ११ हजार ८१३ कित्ता सामूहिक लगानी कोष र ०.५% अर्थात् ३ हजार २८१ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ ।
बाँकी २ लाख २१ हजार १५६ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यसमा चैत २९ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा वैशाख ९ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।
रेटिङ : क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले उपकार लघुवित्तको आइपीओलाई ‘इस्यूअर रेटिङ डबल बी माइनस’ प्रदान गरेको छ । जसले कम्पनी समयमै वित्तीय दायित्व पूरा गर्न मध्यम जोखिममा रहेको आधार जनाउँछ । इक्रा नेपालले २०७८ असार ९ गते यो रेटिङ दिएको हो । यो रेटिङ २०७९ असार ७ गतेसम्म बाहल रहनेछ ।
कति कित्ताका लागि दिने आवेदन ? उपकार लघुवित्तको आइपीओ पाउन पनि लगानीकर्ताले भाग्यकै भर पर्नुपर्ने देखिएको छ । कम्पनीले सर्वसाधारणका लागि २ लाख २१ हजार १५६ कित्ता मात्र सेयर निष्कासन गरेकाले माग भन्दा निकै धेरै आवेदन पर्ने अनुमान गर्न सकिन्छ । पछिल्लो समय आइपीओमा आवेदन दिने लगानीकर्ताको संख्यामा पनि उल्लेख्य वृद्धि भएको छ । पछिल्लो पटक प्रत्येक आइपीओमा २७ लाख भन्दा बढी लगानीकर्ताले आवेदन दिन थालेका छन् ।
यसलाई आधार मान्दा उपकार लघुवित्तको आइपीओमा पनि माग भन्दा निकै बढी गुणा आवेदन पर्नेमा कुनै शंका छैन । उपकार लघुवित्तको आइपीओ न्यूनतम १० कित्ताका दरले बाँडफाँट गर्दा २ हजार २ सय जनाले मात्र सेयर हात पार्नेछन् । यस आधारमा हेर्ने हो भने यो आइपीओमा पनि १० कित्ताका लागि आवेदन दिँदा पर्याप्त हुने देखिन्छ । यद्दपि, कम्पनीले न्यूनतम १० कित्तादेखि अधिकतम १ हाजर कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरेको छ ।
कम्पनी सम्बन्धी विवरण : उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड कम्पनी ऐन, २०६३ तथा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ अन्तर्गत स्थापित भएको कम्पनी हो । यस लघुवित्तको रजिष्टर्ड कार्यालय बाँके जिल्ला, कोहलपुर नगरपालिका वडा नं. ११ मा रहेको छ । उपकार लघुवित्त २०७५ साउन २५ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक लिमिटेड कम्पनीको रूपमा दर्ता भएको थियो ।
यसले २०७५ माघ १७ गते वित्तीय संस्थाको रूपमा वित्तीय कारोबार गर्न नेपाल राष्ट्र बैंकबाट इजाजत पाएको थियो भने औपचारिक रुपमा २०७५ चैत १ गतेदेखि कारोबार सुरु गरेको थियो । हाल यस लघुवित्तले १० जिल्लाहरुमा ३२ वटा शाखा कार्यालयहरु स्थापना गरी कारोबार गर्दै आइरहेको छ । आवश्यकता अनुसार नेपाल राष्ट्र बैंकको स्वीकृति लिएर शाखा, उपशाखा वा अन्य कार्यालय खोली कारोबार गर्न सक्नेछ ।
पुँजी संरचना र वित्तीय प्रक्षेपण : उपकार लघुवित्तको अधिकृत पुँजी ८ करोड रुपैयाँ र जारी पुँजी ६ करोड ५६ लाख २५ हजार रुपैयाँ छ । जारी पुँजीमध्ये ४ करोड २० लाख रुपैयाँ संस्थापक सेयरधनीबाट चुक्ता भइसकेको छ । बाँकी २ लाख ३६ हजार २५० कित्ता आइपीओ जारी गर्न लागिएको हो । आइपीओपछि चुक्ता पुँजी जारी पुँजी बराबर अर्थात ६ करोड ५६ लाख २५ हजार रुपैयाँ पुग्नेछ । आइपीओपछि कम्पनीमा संस्थापक हिस्सा ६४% र सर्वसाधारण हिस्सा ३६% हुनेछ ।
चालु आर्थिक वर्षको अन्त्यसम्म उपकारले ७ करोड ९ लाख ५० हजार रुपैयाँ खुद नाफा कमाउने प्रक्षेपण गरेको छ । यस्तै, आव २०७८–७९ मा ११ करोड ४२ लाख ९१ हजार रुपैयाँ र आव २०७९–८० मा १७ करोड ८ लाख ९ हजार रुपैयाँ नाफा कमाउने अनुमान छ । कम्पनीले तत्काल पुँजी वृद्धि गर्ने कुनै पनि योजना बनाएको छैन । आव २०७९–८० सम्म आइपीओ बिक्रीपछि कायम हुने ६ करोड ५६ लाख २५ हजार रुपैयाँ पुँजी नै यथावत हुने प्रक्षेपण छ ।
यता, चालु आर्थिक वर्षको अन्त्यसम्म प्रतिसेयर आम्दानी १०८ रुपैयाँ पुग्ने प्रक्षेपण रहेको छ । यस्तै, आर्थिक वर्ष २०७८–७९ मा प्रतिसेयर आम्दानी १७४ रुपैयाँ र आव २०७९–८० मा २६० रुपैयाँ पुग्ने अनुमान रहेको छ । साथै, चालु आर्थिक वर्षको अन्त्यमा यस लघुवित्तको प्रतिसेयर नेटवर्थ ४०३ रुपैयाँ र आव २०७८–७९ मा ५७७ रुपैयाँ पुग्ने अनुमान रहेको छ ।
प्रमुख कार्यकारी अधिकृत र आधारभूत सेयरधनीहरु : उपकार लघुवित्तको प्रमुख कार्यकारी अधिकृतको पद शारदा कुमारी खत्रीले सम्हालेकी छिन् । उनको शैक्षिक योग्यता स्नातकोत्तर रहेको छ । कम्पनीको आधारभूत संस्थापक सेयरधनीको रुपमा महिला उपकार मंच कोहलपुर ११, बाँके र प्रभु बैंक रहेका छन् । जसमा महिला उपकारले २ लाख ८१ हजार ४०० कित्ता र प्रभु बैंकले ६० हजार कित्ता लगानी गरेका छन् ।
यो पनि : आजबाट खुल्याे नयाँ आईपीओ, आजै भर्दा ठिक कि १/२ दिन पछि भर्दा ठिक ?