काठमाडौं ।
केन्द्रमा पाँच दली गठबन्धनमा रहेको जनता समाजवादी पार्टीले कैलालीमा भने सो गठबन्धन तोड्दै जसपाबाट अलग भएकाे लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र अन्य केही साना दलसँग चुनावी तालमेत गर्ने सहमति गरेको छ ।
कुनै समय जसपामै रहेका रेशम चौधरी र लक्ष्मण चौधरीले गठन गरेको नेपाल लोकतान्त्रिक पार्टी कैलाली र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च पनि गठबन्धनमा सहभागि हुने भएको छ ।
सत्तारूढ गठनबन्धनले सुदूरपश्चिम सरकारमा सहभागी नगराएपछि रुष्ट बनेको जसपाले केन्द्रीय गठबन्धनलाई बहिस्कार गरेर अन्य साना दलसँग चुनावी तालमेल गर्ने गरी सहमति भएको जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य होरिलाल चौधरीले बताए ।
उनले भने,‘उम्मेदवार जिताउनका लागि मात्रै गठबन्धन गर्ने तर सत्तामा ठूला दलले रजाई गर्ने कुरा हामीलाई मान्य छैन ।, त्यसैले हामी पाँच दलीय गठबन्धनबाट बाहिरिएका छौँ ।’
उनका अनुसार कैलालीमा जसपाको नेतृत्वमा चार दलीय गठबन्धन हुनेछ । सो गठबन्धनले कैलालीको धनगढी उपमहानगरपालिकाबाहेक १२ स्थानीय तहमा उम्मेदवारी दिनेछ । उपमहानगरपालिकाको हकमा भने केन्द्रले नै निर्णय गर्ने उनले बताए ।
उनले कैलालीमा चार दलीय गठबन्धनमा रहेकाबाहेक अन्य ठुला दलसँग पनि आवश्यकताअनुसार तालमेल हुन सक्ने बताए । चुनावका लागि गरिएको चार दलीय गठबन्धनले ठुला दलसँग पनि जिल्लामा आवश्यकताअनुसार गठबन्धन गर्न सक्ने नेपाल लोकतान्त्रिक पार्टी कैलालीका संयोजक लक्ष्मण चौधरीकाे भनाइ छ ।
तालमेलका लागि एमालेलगायत ठुला दलसँग पनि आवश्यक छलफल भइरहेको उनको भनाइ छ । तर कांग्रेस माओवादी र समाजवादी पार्टीसँग भने तालमेल हुने सम्भावना न्यून रहेको उनले बताए ।
विगतमा आफ्ना अधिकारका लागिसँगै लडेका साना पार्टीबीच तालमेल गर्दै ठुला दललाई चुनौति दिइने उनकाे भनाइ छ । तालमेलपछि सबै पालिकामा सहमतिका आधारमा उम्मेदवारी दिइने र जुन पालिकामा जस्ले नेतृत्व पाउँछ उसैको चुनाव चिन्ह प्रयोग गरिने चार दलीय गठबन्धनबीच सहमति भएको छ ।
तर, वडाको हकमा भने जुन पार्टीले वडा अध्यक्ष पाउँछ त्यही पार्टीको चिन्हमा सदस्यले चुनाव लड्नु पर्ने सहमति भएको जसपाका कैलाली अध्यक्ष गयाप्रसाद कुस्मीले बताए । यसै साताभित्र उम्मेदवारी टुंगो लगाउने गरी गृहकार्य भइरहेको उनले बताए ।