डडेल्धुरा ।
सोमबार नेपाल प्रेस यूनियन डडेल्धुरा शाखाले जिल्ला सदरमुकाममा आयोजना गरेको पत्रकार सम्मेलनमा सुदूरपश्चिम प्रदेश सरकारका नवनियुक्त सामाजिक विकासमन्त्री गोविन्दराज बोहराले शिक्षा र स्वास्थ्य क्षेत्रमा नमूना काम गरेर देखाउने बताएका छन्।
उनले भने, ‘सडक ६ महिना ढिला बनेको पनि हुन्छ तर स्वास्थ्य ६ मिनेट पनि रोक्न मिल्नैन। विपन्न वर्गलगातयत सबैका लागि म निःशुल्क स्वास्थ्य बीमा लागू गर्ने प्रयासमा छु,’ । ‘शिक्षा बलियो हुनैपर्छ। नत्र समाज राम्रो बन्दैन। नमूना शिक्षा नीति लागू गर्नेछु।’
उनले सुदूरपश्चिमका नौं वटै जिल्ला एक–एक नमूना विद्यालय बनाउने सोचमा आफू रहेको पनि जानकारी दिएका छन्। उनले नमूना विद्यालयलाई कसरी व्यवस्थापन गर्ने भनेर आउँदो बजेटमा समेट्ने पनि बताएका छन्।
यहाँका विद्यालयमा प्रर्याप्त भौतिक पूर्वाधारका साथै शिक्षण सिकाइ सामग्रीहरू नभएको उल्लेख गर्दै मन्त्री बोहराले शिक्षा क्षेत्रमा व्यापक लगानी गनुपर्नेमा जोड दिएका छन्। उनले जनताले महसुस गर्ने गरी स्वास्थ्य र शिक्षा क्षेत्रमा आमुल परिवर्तन ल्याउने उनको दाबी छ।
उनले सुदूरपश्चिम सरकारले गरिबका छोराछोरीलाई डाक्टर पढाइरहेको पनि बताएका छन्। उनले एकवर्षमा १५ जनालाई डाक्टर पढ्नका लागि छात्रवृति दिँदा पाँच वर्षमा सुदूरपश्चिममा ७५ जना डाक्टर उत्पादन हुने उनको भनाइ थियो।
फरक प्रसंगमा मन्त्री बोहराले चुनाबी गठबन्धनबारे सुदूरपश्चिममा सकारात्मक छलफल भइरहेको बताएका छन्। ‘चुनाबी तालमेलबारे छलफल जारी छ। गठबन्धन तोड्ने मनसाय कसैको पनि छैन। तर, यसलाई कसरी मिलाएर अगाडि बढ्नबारेमा कुराकानी हुँदैछ,’ उनले भने।
मन्त्री बनेपछि आइतबार पहिलोपटक गृहजिल्ला आएका बोहरालाई नेपाली कांग्रेस डडेल्धुराले भव्य स्वागत गरेको थियो। डडेल्धुरा प्रदेश (ख) बाट प्रदेश समानुपातिक सांसद बोहरा गत साता मात्रै मन्त्री बनेका थिए।
गृहजिल्ला आएका बोहरालाई जिल्ला सदरमुकामको बसपार्कदेखि निर्माण व्यवसायी संघको सभा हलसम्म बाजागाजासहित स्वागत गरिएको थियो। जन्म वि.स २०१८ सालमा डडेल्धुराको अमरगढी नगरपालिका–३ डोटी घटाल (चम्साल) मा जन्मेका बोहरा पहिलोपटक मन्त्री बनेका हुन्।














