बैतडीमा मतदान केन्द्र र मतदानस्थलको निरीक्षण शुरु

Image

बैतडी ।

आसन्न स्थानीय तहको निर्वाचनमा शान्ति सुरक्षा कायम गर्न बैतडीका मतदानस्थल र मतदान केन्द्रको निरीक्षण शुरु गरिएको छ । जिल्ला सुरक्षा समितिले विभिन्न स्थानीय तहमा रहेका मतदानस्थल र मतदान केन्द्रको अवस्थाका बारेमा निरीक्षण शुरु गरेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताए ।

सुरक्षा संवेदनशीलताका आधारमा अति संवेदनशीलको सूचीमा रहेका मतदान केन्द्र र मतदानस्थललाई प्राथमिकतामा राखेर अनुगमन, निरीक्षण गर्ने काम भईरहेको भारतीले बताए । बैतडीका १२९ मतदानस्थल मध्ये सुरक्षाको दृष्टिकोणले ३१ ओटा मतदानस्थल अति संवेदनशीलको सूचीमा रहेका छन् ।  यस्तै जिल्लाका ३४ मतदानस्थल संवेदनशील र ६५ ओटा मतदानस्थल कम संवेदनशील सूचीमा रहेका बताइएको छ ।

जिल्लाको सुर्नया गाउँपालिका र डिलाशैनी गाउँपालिकामा रहेका केही मतदानस्थल र मतदान केन्द्रको निरीक्षण कार्य सम्पन्न भईसकेको छ । जिल्लाका अन्य ठाउँमा पनि अनुगमन गरिने सूचना अधिकारी भारतीले बताए । बैतडीमा आसन्न स्थानीय तहको निर्वाचनका लागि १२९ मतदानस्थल र २ सय ५ मतदान केन्द्र कायम गरिएका छन् ।