साफ यु–२० च्याम्पियनसिप खेल्न नेपाल आइपुग्याे माल्दिभ्सकाे टोली

Image

काठमाडौं । साफ यु–२० च्याम्पियनसिप खेल्न माल्दिभ्सको टोली नेपाल आइपुगेको छ। प्रतियोगिता आइतबारदेखि सुरु हुनेछ। प्रतियोगिता आगामी भदौ २ (आइतबार) गतेदेखि सुरु हुनेछ। विभिन्न छ राष्ट्र सहभागी उक्त प्रतियोगितामा नेपाल समूह ‘ए’मा परेको छ ।

माल्दिभ्सको टोलीले बुधबार भुटानसँग खल्दै प्रतियोगिताको सुरुआत गर्नेछ। माल्दिभ्स र भुटान रहेको समूह ‘बी’ मा साबिक विजेता भारत पनि रहेको छ। यो समूहबाट शीर्ष दुईमा रहने टोली सेमिफाइनलमा पुग्नेछ।

दुई वर्षअघि भारतमा भएको प्रतियोगिता सिंगल राउन्ड रोबिनमा खेलाइएको थियो। पाँच टोली सहभागी प्रतियोगितामा माल्दिभ्स चौथो स्थानमा रहँदै बाहिरिएको थियो। माल्दिभ्सले श्रीलंकालाई १–१ गोलको बराबरीमा रोक्नुबाहेक अन्यमा निराशाजनक हार बेहोरेको थियो।

त्यसैगरी, भूटान, श्रीलंका र भारत यही साउन ३२ गते नेपाल आइपुग्नेछ भने बंगलादेश भदौ १ गते नेपाल आइपुग्ने तय भएको आयोजक एन्फाले जनाएको छ ।

नेपाली टोलीमा जियारथ शेख, कृशल मोक्तान, विशाल केसी, सिमान्त थापा, अश्विन घोरासैनी, विक्रम तामाङ, आयुष तिम्सिना, अविनाश स्याङ्तान, जनप्रकाश बम, लक्षु थापा र मदन पौडेल छन् ।

त्यसैगरी, राम थापा, समिन घिमिरे, सरोज दर्लामी, निनसाङ लिम्बू, कुशल देउवा, निरज कार्की, हरिश राज भट्ट, धर्मेन्द्र कुँवर, अनिल बम्जन, समिर तामाङ, निराजन धामी र रोहन खड्गी छन् ।