हेटौँडा/ हेटौँडा–फापरबारी सडकखण्ड अन्तर्गत हेटौँडा उपमहानगरपालिका–६ र ७ जोड्ने हरियाली क्षेत्र तथा हेटौँडा–८ ओमनगर खहरेमा निर्माण सम्पन्न दुई नयाँ कल्भर्ट पुलको उद्घाटन गरिएको छ।
नगर प्रमुख मीनाकुमारी लामा, उपप्रमुख राजेश बानियाँ तथा सम्बन्धित वडाध्यक्ष र सदस्यहरूको उपस्थितिमा दुबै पुलको औपचारिक उद्घाटन गरिएको हो।
हेटौँडा–६ र ७ जोड्ने ११ मिटर लम्बाइको पुल १ करोड १९ लाख रुपैयाँमा र हेटौँडा–८ मा रहेको १४ मिटर लम्बाइको पुल ८२ लाख ३ हजार ९८६ रुपैयाँ लागतमा तोकिएको समयमै निर्माण सम्पन्न गरिएको हो।
यसअघि हरेक वर्ष वर्षायाममा भेलका कारण आवतजावतमा समस्या हुँदै आएकोमा नयाँ पुल निर्माणपछि स्थानीयवासीलाई राहत मिलेको छ। स्थानीय सरकारका अनुसार अब दुबै क्षेत्रमा यातायात सहज र सुरक्षित हुनेछ।