हेटौंडा अस्पतालको खाताबाट रक्सी–मासु सेवनको लाखौं खर्च, अख्तियारले १५ दिनभित्र स्पष्टिकरणसहित आवश्यक कागजातहरू पेश गर्न निर्देशन

Image

हेटौंडा /  एक महिनामै लाखौं रुपैयाँ बराबरको मदिरा र मासु सेवनको खर्च सार्वजनिक अस्पतालको खाताबाट भुक्तानी गरिएको खुलासा भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको हेटौंडा अस्पतालले गएको पुस महिनामा हेटौंडा–११ मा रहेको होटल स्मारकमा गरिएको रक्सी र मासु सेवनको करिब ८ लाख रुपैयाँ तिरेको विवरण सार्वजनिक भएको हो। सार्वजनिक संस्थाको रकम यसरी निजी खपतमा प्रयोग गरिएको आशंकामा २०८१ माघ ९ गते अख्तियारमा औपचारिक उजुरी दर्ता गरिएको थियो।

उक्त उजुरीका आधारमा अख्तियारले २०८१ चैत ७ गते अस्पताललाई औपचारिक पत्र पठाउँदै १५ दिनभित्र स्पष्टिकरणसहित आवश्यक कागजातहरू पेश गर्न निर्देशन दिएको थियो। अख्तियारले माग गरेका कागजातहरूमा आर्थिक वर्ष २०७९/८० र २०८०/८१ का स्वीकृत बजेट शीर्षकहरू, होटल स्मारकलाई नगद वा अनलाइनबाट गरिएको भुक्तानीसम्बन्धी विवरणहरू, स्वास्थ्य सेवा विभागको सफ्टवेयरमार्फत बजेट प्रविष्टि गरिएको प्रमाण, औषधी तथा सामग्री खरिदसँग सम्बन्धित सम्पूर्ण कागजातहरू समावेश छन्।

त्यस्तै, फर्निचर खरिदमा समेत अनियमितता भएको आशंका गरिएको छ। अख्तियारले यस सम्बन्धमा पनि सोही आर्थिक वर्षहरूमा गरिएको बजेट स्वीकृति, लागत अनुमान, विवरणपत्र, खरिद प्रक्रिया र भुक्तानीसम्बन्धी सम्पूर्ण प्रमाणहरू माग गरेको हो।

यसबारेमा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रामचन्द्र सापकोटाले भने, “सानो विषयमा गम्भीर ध्यान नदिइने र ठूलो रकम उल्लेख भएपछि मात्रै अनुसन्धान थालिने प्रवृत्तिका कारण अस्पतालमाथि अनावश्यक दबाब सिर्जना गरिएको हो।” उनले अख्तियारको पत्रलाई “दबाब दिने उद्देश्य” भएको पनि बताए। यद्यपि, १५ दिनको समयावधि सकिए पनि अस्पतालले हालसम्म कुनै औपचारिक प्रतिक्रिया वा कागजात पेश गरेको छैन।

सार्वजनिक बजेटको यस्ता खर्चमा पारदर्शिता र जवाफदेहिताका सवालहरू उठिरहेका बेला, अख्तियारले सुरु गरेको अनुसन्धानले यस घटनाको यथार्थ पत्ता लगाउने अपेक्षा गरिएको छ।