बैतडी ।
आसन्न स्थानीय तहको निर्वाचनका लागि माओवादीले बैतडीका स्थानीय तहमा उम्मेदवारी दर्ता गराएको छ । जिल्लाको पुर्चौंडी नगरपालिका र मेलौली नगरपालिकामा आइतबार उम्मेदवारी दर्ता गराएको माओवादी केन्द्रले अन्य स्थानीय तहमा आज उम्मेदवारको मनोनयन दर्ता गराएको छ ।
जिल्लाको पुर्चौंडी र मेलौलीमा माओवादी एक्लै चुनावी मैदानमा उत्रेको छ । पुर्चौंडीको मेयरमा विक्रम कुँवर (प्रतीक) र उपमेयरमा नन्दा शाहको उम्मेदवारी दर्ता भएको छ । यस्तै मेलौलीको मेयरमा भीमबहादुर चन्द (भुकम्प) र उपमेयरमा मनिषा दयालको उम्मेदवारी दर्ता भएको माओवादी केन्द्रका जिल्ला संयोजक शंकर भण्डारीले बताए ।
जिल्लाको दशरथचन्द नगरपालिकामा एकीकृत समाजवादीसंग चुनावी तालमेल गरेको माओवादीले मेयरमा प्रेमसिंह थापाको मनोनयन दर्ता गराएको छ । यस्तै पाटनमा कांग्रेससंग गठबन्धन गरेको माओवादीले उपमेयरमा कमलसिंह बोहराको मनोनयन दर्ता गराएको छ । यस्तै शिवनाथको उपाध्यक्षमा नरेन्द्र साउँद, दोगडाकेदारको उपाध्यक्षमा नवराज भट्ट (कुसुम) र सुर्नयाको उपाध्यक्षमा दिलाराम भट्ट उम्मेदवारी दर्ता गराएको छ ।
यस्तै डिलाशैनीको अध्यक्षमा लोकेन्द्र राना (शितल)को उम्मेदवारी दर्ता भएको माओवादी केन्द्रका जिल्ला संयोजक शंकर भण्डारीले बताए । जिल्लाको सिगास गाउँपालिकाको अध्यक्ष राजेन्द्र साउँद र उपाध्यक्षमा लक्ष्मी चन्दको उम्मेदवारी दर्ता भएको छ । चन्द एमालेबाट असन्तुष्ट बनेर माओवादी केन्द्रमा प्रवेश गरेको जनाइएको छ ।