काठमाडौं ।
सत्तारूढ दल नेपाली कांग्रेसले पार्टीबाट बागी बनेका उमेदवारलाई दुई दिनभित्र आफ्नो उमेदवारी निष्क्रिय गरे कारबाही नगर्ने बताएकाे छ । पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले सोमबार विज्ञप्ति जारी गर्दै वैशाख २१ भित्र विज्ञप्ति जारी गरेर उमेदवारी निष्क्रिय गर्न निर्देशन दिएका छन् ।
विज्ञप्तिमार्फत कांग्रेसले उमेदवारीप्रति पुनर्विचार गरी सार्वजनिक रूपमा वक्तव्य प्रकाशित गर्न र आधिकारिक उमेदवारका पक्षमा सक्रियतापूर्वक प्रचार अभियानमा संलग्न हुन निर्देशन दिएको छ ।
“पार्टीका आधिकारिक उम्मेदवार तथा पार्टीले समर्थन गरेका उमेदवारका विरुद्ध विद्रोही उमेदवारी दर्ता गराएका र त्यस्ता उमेदवारका प्रस्तावक र समर्थक बनेका पार्टी सदस्यले आफ्नो उमेदवारीप्रति पुर्नविचार गरी सार्वजनिक रूपमा वक्तव्य प्रकाशित गरी उमेदवारी निष्क्रिय गरिदिनु हुन र आधिकारिक उमेदवारका पक्षमा सक्रियतापूर्वक प्रचार अभियानमा संलग्न हुनु हुन निर्देशानुसार अनुरोध गरिएको छ,” विज्ञप्तिमा लेखिएको छ ।
“२०७९ वैशाख २१ गतेभित्र आफ्नो उमेदवारी निष्क्रिय गरी पार्टीका आधिकारिक उमेदवार र पार्टीले समर्थन गरेका उमेदवारलाई विजयी बनाउन सहयोग गर्ने प्रतिबद्धतासहित, सक्रिय रहने विद्रोही उमेदवार र त्यस्ता उमेदवारका प्रस्तावक र समर्थक उपर पार्टी विधान बमोजिम हुने कारबाहीमा पार्टी केन्द्रले आवश्यक प्रक्रिया पुर्याइएर पुर्नविचार गर्न सक्ने समेत सम्बन्धित सबैलाई निर्देशानुसार जानकारी गराइन्छ,” विज्ञप्तिमा थपिएकाे छ।
















