मकवानपुर । राष्ट्रियसभा निर्वाचन अन्तर्गत बागमती प्रदेशमा सत्तारुढ गठबन्धनले दुवै सीटमा जित हासिल गरेको छ । सत्तारुढ गठबन्धनका उम्मेदवारद्वय कृष्णप्रसाद पौडेल र गोमा तिमल्सिनाले जित हासिल गरेका हुन् ।
पौडेलले ४ हजार ७९४ मतभार ल्याएर विजयी भए भने तिमल्सिनाले ४ हजार ८२४ मतभार ल्याइन् । पौडेल नेपाली काँग्रेसको कोटामा र तिमल्सिनाले नेकपा एकीकृत समाजवादीको कोटामा उम्मेदवारी दिएका थिए । उनीहरु सत्तारुढ गठबन्धनको साझा उम्मेदवारका रुपमा मैदानमा उत्रिएका थिए ।
कृष्णप्रसाद पौडेल (नेपाली काँग्रेस)
२०१७ सालमा स्याङ्जामा जन्मिएका कृष्णप्रसाद पौडेल बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्य पदमा विजयी भएका छन् । २०३६ सालबाट विद्यार्थी राजनीति सुरु गरेका उनले २०३८/३९ सालमा काठमाडौँको पकनाजोलस्थित पिपल्स क्याम्पसमा नेपाल विद्यार्थी संघको विभिन्न जिम्मेवारीमा रहेर काम गरे ।
त्यसपछि उनले शिक्षण पेशा सुरु गरे । लोकतान्त्रिक विचारधारा अवलम्वन गर्ने पौडल २०४७ सालमा शिक्षक संघको संस्थापक सदस्य भए । शिक्षण पेशामा रहँदै पेशागत हितका निम्ति निरन्तर लागिपरेका उनले २०५० सालमा संघको सभापतिको जिम्मेवारी सम्हाले ।
२०६० सालमा प्रजातान्त्रिक काँग्रेसको शिक्षा समितिको सदस्यसचिव, महासमिति सदस्य हुँदै २०६१ सालमा उनी काँग्रेस स्याङ्जा जिल्ला समितिको सदस्य भए । उनी काँग्रेसको जिल्ला सदस्य भएपछि पार्टीको गतिविधिलाई सक्रियताका साथ अघि बढाउन डटेर लागेका थिए ।
पार्टीको संगठनभन्दा पनि सचिवालयको काममा उनले बढी जिम्मेवारी प्राप्त गरेका छन् । पार्टीको केन्द्रीय कार्यालय सचिवालयतर्फ उनले आफ्नो कार्यकुशलता प्रस्तुत गरेका छन् । उनी काँग्रेसको १३ औं महाधिवेशनबाट केन्द्रीय कार्यालयको मुख्यसचिवको जिम्मेवारीमा रहे ।
प्रशासनिक क्षेत्रमा दक्षता प्राप्त गरेका उनी २०७४ सालमा राष्ट्रियसभा सदस्य पदका लागि सिफारिसमा परे तर, उनले उक्त जिम्मेवारी सम्हाल्न पाएनन् ।
लामो समय शिक्षण पेशामा रहेका पौडेल काठमाडौँको गोंगबुस्थित बिएसटी कलेजको संस्थापक क्याम्पस प्रमुख पनि हुन् । करिब २५ वर्ष शिक्षण पेशामा रहेका उनी काँग्रेस वृत्तमा शिक्षित नेताको रुपमा स्थापित व्यक्ति हुन् ।
गोमा तिमल्सिना (नेकपा एकीकृत समाजवादी)
२०१२ सालमा गोरखा (मामा घर)मा जन्मिएकी गोमा तिमल्सिनाको घर भने तनहुँको बन्दीपुर हो । उनी मजदुर संगठनबाट राजनीतिमा उदाएकी नेतृ हुन् ।
२०३७ सालदेखि एमालेको मजदुर संगठनबाट राजनीतिमा प्रवेश गरेकी उनले चितवन, गीता नगरमा घरजम गरे पनि कार्यक्षेत्र हेटौँडा कपडा उद्योगमा थियो । तिमिल्सिनाले २२ वर्ष आफ्ना जवानीका उर्वर समय त्यहाँ बिताइन् । उद्योगमा कार्यरत अवस्थामा पनि उनले अन्य सहकर्मीसँग मिलेर पार्टीको संगठन विस्तारमा भूमिका निर्वाह गरिन् ।
२०३७ सालमा नेपाल स्वतन्त्र मजदुर संगठनमा आवद्ध भएर उनी मजदुर आन्दोलनमा लागेकी हुन् । सो समयमा उनी महिला संगठनमा समेत आवद्ध थिइन् । संगठनमा आवद्ध भएर राज्यविरुद्ध काम गरेको भन्दै उनलाई त्यतिबेला राज्यद्रोहको मुद्दासमेत लगाइएको थियो । नेपाल स्वतन्त्र मजदुर संगठन नेकपा मालेसँग नजिक रहेर आफ्ना गतिविधिहरु सञ्चालन गर्ने गर्दथ्यो ।
उनी जिफण्टको मध्यमाञ्चल संयोजक हुँदै अनेमसंघमा आवद्ध भइन् भने मजदुर विशेष जिल्ला कमिटीमा रहेर पनि काम गरिन् । २०४३ सालतिर नै उनले मालेको पार्टी सदस्यता लिएकी थिइन् । तिमल्सिनाले २०४६ सालमा पञ्चायत विरुद्धको आन्दोलनमा पनि महत्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन् ।
२०४७ सालमा मालेले नेकपा मार्क्सवादी लेलिनवादी पार्टीसँग एकता गरेपछि भने उनी एमालेमा आवद्ध भइन् । उनले एमालेको मजदुर संगठन जिफन्टमा ‘वरिष्ठ ट्रेड युनियनकर्मी’ पदमा रहेर काम गरेकी थिइन् । उनी तीन पटकसम्म एमालेको मजदुर तर्फको राष्ट्रिय परिषद सदस्य भइन् । तिमिल्सिना २०५४ मा एमालेको टेक्सटाइल गार्मेन्ट मजदुरको संगठनमा केन्द्रीय उपाध्यक्ष थिइन् ।
एमालेको आठौँ महाधिवेशनमा तिमिल्सिना केन्द्रीय सदस्यको उम्मेदवार भइन् तर विजयी हुन सकिनन् । एमालेमा उनलाई माधव नेपाल निकट भनेर चिनिन्थ्यो । तिमल्सिना नवौँ महाधिवेशनमा नेपाल समूहबाट पुनः केन्द्रीय सदस्यको उम्मेदवार भइन् । यसपटक पनि नजिता उनको पक्षमा आएन । त्यसपछि उनी पार्टीमा केन्द्रीय सल्लाहकारमा मनोनित भइन् ।
२०७८ सालमा एमाले विभाजनपछि उनी माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) प्रदेश कमिटी सदस्य बनिन् भने केही समयपछि उनीलाई केन्द्रीय सदस्य बनाइयो ।