हेटौंडामा स्वीप अपरेशन : खैरो हिरोइनसहित तीन जना पक्राउ

Image

हेटौंडा/ जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा वडा प्रहरी कार्यालय सानोपोखरीबाट खटिएको विशेष टोलीले हेटौंडा बजार क्षेत्रमा सञ्चालन गरेको स्वीप अपरेशनका क्रममा खैरो हिरोइनसहित तीन जनालाई पक्राउ गरेको छ।

प्रहरीले लागूऔषध बिक्री–वितरण तथा कारोबार भइरहेको विशेष सूचनाका आधारमा शुक्रबार विभिन्न स्थानमा छापा मारेर तीन जनालाई नियन्त्रणमा लिएको जनाएको छ।

प्रहरीका अनुसार दिउँसो करिब १ बजे हेटौंडा उपमहानगरपालिका–४ नारायणी महल नजिकको भित्री गल्लीबाट हेटौंडा–१ पानसुके चोकमा डेरा गरी बस्ने अन्दाजी १८ वर्षीय अशोक गुरुङलाई पक्राउ गरिएको हो। उनको साथबाट खैरो हिरोइन जस्तो देखिने ५२० मिलिग्राम धुलो पदार्थ तथा नगद ९ हजार ६ सय रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ।

त्यसैगरी दिउँसो १:४० बजे हेटौंडा–४ मा डेरा गरी बस्ने अन्दाजी ४६ वर्षीय रामजी बानियाँको कोठामा खानतलासी गर्दा खैरो हिरोइन जस्तो देखिने १२ ग्राम ३८० मिलिग्राम धुलो पदार्थ र नगद १२ हजार ६ सय रुपैयाँ फेला परेको प्रहरीले जनाएको छ।

यसै क्रममा साँझ ७ बजे हेटौंडा–५ पिप्लेबाट सोही स्थानमा डेरा गरी बस्ने अन्दाजी २४ वर्षीया अञ्जली तामाङ उर्फ क्रान्ती देवी घलानलाई पक्राउ गरिएको छ। उनको साथबाट खैरो हिरोइन जस्तो देखिने ५ ग्राम १७० मिलिग्राम धुलो पदार्थ तथा नगद ४ हजार ५ सय रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ।

पक्राउ परेका तीनै जनामाथि लागूऔषध नियन्त्रण ऐन, २०३३ अन्तर्गत अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। साथै, उक्त कारोबारमा संलग्न अन्य व्यक्तिको पहिचान तथा खोजतलास कार्य समेत जारी रहेको प्रहरीले जनाएको छ।