हेटौंडा । हेटौंडा उपमहानगरपालिकामा बालबालिकाले सहजै चुरोट खरिद गर्न सक्ने अवस्था रहेको तथ्य सार्वजनिक भएको छ।
शनिबार नगर बाल सञ्जाल हेटौंडाले सञ्चालन गरेको विशेष अनुगमन तथा अवलोकन अभियानका क्रममा हेटौंडा–२ स्थित मकवानपुर बहुमुखी क्याम्पस र सिद्धार्थ माध्यमिक विद्यालय आसपासका पसलहरूले बालबालिकालाई नै चुरोट बिक्री गरिरहेको पाइएको हो।
बाल सञ्जालमा आबद्ध बालबालिकाहरू ग्राहक बनेर चुरोट किन्न विभिन्न पसलमा पुगेका थिए। मकवानपुर बहुमुखी क्याम्पस तथा विद्यालय आसपास क्षेत्रभित्र रहेका खाजाघर, किराना पसल र अन्य व्यवसायिक प्रतिष्ठानमा पुग्दा सबैजसो पसलले कुनै सोधपुछ नगरी बालबालिकालाई चुरोट बिक्री गरेको भेटिएको बाल सञ्जालले जनाएको छ।
अभियानका क्रममा करिब १५ वटा पसलमा पुगिएको थियो। अनुगमनमा सहभागी बालबालिकाका अनुसार उमेर नपुगेका बालबालिकालाई सुर्तीजन्य पदार्थ बिक्री गर्न नहुने कानुनी व्यवस्था भए पनि व्यवहारमा त्यसको पालना नभएको देखिएको छ।
बाल संजालले सञ्चालन गगेको उक्त अभियानमा हेटौंडा उपमहानगरपालिका र बाल हेल्पलाइन (सिविन) को समन्वय थियो।
अनुगमन टोलीले पहिलो चरणमा सम्बन्धित व्यवसायीलाई सचेत गराएको छ। बालबालिकालाई चुरोट तथा अन्य सुर्तीजन्य पदार्थ बिक्री नगर्न आग्रह गर्दै पुनः अनुगमनका क्रममा यस्तो कार्य दोहोरिएको पाइए कानुनबमोजिम कारबाही गरिने चेतावनी समेत दिइएको छ।
नगर बाल सञ्जालका प्रतिनिधिहरूले बालमैत्री सहरको नारालाई व्यवहारमा उतार्न स्थानीय सरकार, अभिभावक, विद्यालय र व्यवसायी सबै जिम्मेवार हुनुपर्ने बताएका छन्। उनीहरूका अनुसार बालबालिकालाई सुर्तीजन्य पदार्थको पहुँचबाट टाढा राख्न यस्ता अभियान आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिनेछ।
बालमैत्री स्थानीय शासनको अभ्यास भइरहेको दाबी गरिँदै आएको हेटौंडामा विद्यालय र क्याम्पस नजिकैका पसलले बालबालिकालाई खुलेआम चुरोट बिक्री गरिरहेको तथ्यले सम्बन्धित निकायको अनुगमन र कानुन कार्यान्वयनको प्रभावकारितामाथि प्रश्न खडा गरेको छ।















