हेटौडा/ आगामी आर्थिक वर्ष २०८३/८४ मा आफ्नै स्रोतबाट ५७ करोड रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गर्ने लक्ष्यसहित हेटौँडा उपमहानगरपालिका ले २ अर्ब ८५ करोड ५ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ।
मंगलबार सम्पन्न १९ औँ नगरसभामा उपमेयर राजेश बानियाँ ले प्रस्तुत गरेको बजेट चालु आर्थिक वर्षको तुलनामा ५ करोड रुपैयाँले कम हो। चालु आवका लागि उपमहानगरपालिकाले २ अर्ब ९० करोड रुपैयाँको बजेट ल्याएको थियो।
प्रस्तावित बजेटअनुसार उपमहानगरपालिकाले आन्तरिक स्रोतबाट ५७ करोड ३६ लाख ८० हजार रुपैयाँ सङ्कलन गर्ने लक्ष्य राखेको छ। यस्तै राजस्व बाँडफाँटबाट ९९ करोड २० लाख ४८ हजार रुपैयाँ, प्रदेश सरकारबाट १० करोड १ लाख ७२ हजार रुपैयाँ र सङ्घीय सरकारबाट १ अर्ब १८ करोड ४६ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।
बजेटले पूर्वाधार विकासलाई प्रमुख प्राथमिकतामा राखेको छ। यसअन्तर्गत विभिन्न योजना तथा कार्यक्रम सञ्चालनका लागि ६७ करोड १९ लाख ८१ हजार रुपैयाँ विनियोजन गरिएको छ। वडास्तरीय योजना तथा कार्यक्रमका लागि मात्र ४८ करोड ४० लाख ६२ हजार रुपैयाँ छुट्याइएको छ। सडक बोर्डअन्तर्गतका योजनाका लागि १ करोड ५० लाख, सडक सुरक्षा तथा उज्यालो सहर कार्यक्रमका लागि ९५ लाख र सिसिटिभी क्यामेरा जडानका लागि ५३ लाख रुपैयाँ विनियोजन गरिएको छ।
खानेपानी व्यवस्थापनतर्फ हेटौँडा खानेपानी व्यवस्थापन बोर्ड सँगको साझेदारीमा १ करोड ९० लाख रुपैयाँ छुट्याइएको छ। साथै परियोजना बैङ्कका लागि ५० लाख, आकस्मिक पूर्वाधार मर्मतका लागि २ करोड, एकीकृत बसपार्क तथा टर्मिनल भवन निर्माणका लागि ४ करोड ६० लाख तथा सहरी विकास एवं पूर्वाधार कार्यक्रमका लागि २६ करोड ४९ लाख रुपैयाँ विनियोजन गरिएको छ।
शिक्षा क्षेत्रमा विद्यालयको भौतिक पूर्वाधार सुदृढीकरण, प्राविधिक शिक्षाको विस्तार तथा गुणस्तर अभिवृद्धिलाई प्राथमिकता दिइएको छ। स्वास्थ्यतर्फ ‘मेयरसँग जनता स्वास्थ्य कार्यक्रम’, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिका लागि घरदैलो स्वास्थ्य सेवा र मातृ–शिशु स्वास्थ्य कार्यक्रमलाई निरन्तरता दिइने जनाइएको छ।
उपमहानगरपालिकाले सीमित स्रोत–साधनका बीच राजस्व वृद्धि, पूर्वाधार विस्तार र सेवा प्रवाहलाई सन्तुलित ढङ्गले अघि बढाउने लक्ष्यसहित बजेट ल्याएको जनाएको छ।

















