हेटौडा/ हेटौंडा-११ थानाभर्याङ्मा रहेको सिएमसी चुरेहिल अस्पतालले मेयर कप फुटबल प्रतियोगितामा सहभागी टोलीलाई जर्सी तथा अफिसियल सामग्री सहयोग गरेको छ । खेल क्षेत्रको प्रवर्द्धन तथा युवा खेलाडीहरूलाई हौसला प्रदान गर्ने उद्देश्यले अस्पतालले आफ्नै खर्चमा जर्सी उपलब्ध गराएको हो।
अस्पतालका डाक्टर तथा सीईओ आकेश प्रजापति ले खेलाडीहरूलाई जर्सी हस्तान्तरण गर्दै स्वास्थ्य र खेलकुद एकअर्काका परिपूरक पक्ष भएकाले युवाहरूलाई खेलकुदतर्फ प्रेरित गर्न अस्पतालले सहयोग गरेको बताउनुभयो।
उहाँले सीएमसी अस्पतालले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न स्वास्थ्य तथा सामुदायिक कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गर्दै हाल हेटौंडा उपमहानगरपालिकाका १९ वटै वडा भित्रका महिला तथा स्त्रीरोगका लागि विशेषज्ञमार्फत निःशुल्क स्वास्थ्य परीक्षण अभियान सञ्चालन भइरहेको जानकारी दिनुभयो।
अभियानअन्तर्गत ओपीडी सेवा पूर्ण रूपमा निःशुल्क रहेको र अधिकभन्दा अधिक सेवाग्राहीले यसको लाभ लिनुहुन उहाँले आग्रह गर्नुभएको छ।
“समयमै स्वास्थ्य परीक्षण गराउँदा धेरै रोगको पहिचान र उपचार सहज हुन्छ,” डाक्टर प्रजापतिले भन्नुभयो, “त्यसैले हेटौंडावासीलाई यो अवसरको भरपुर उपयोग गर्न अनुरोध गर्दछौं।”
जर्सी वितरण कार्यक्रममा हेटौंडा उपमहानगरपालिका–११ का वडा सदस्य विकास नेपाल को समेत उपस्थिति रहेको थियो। उहाँले स्थानीय खेलाडीहरूको मनोबल बढाउन निजी क्षेत्रबाट भएको सहयोग प्रशंसनीय रहेको बताउँदै यस्ता गतिविधिले खेलकुद विकासमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो। यस्तै कार्यक्रममा सीएमसी अस्पतालका पब्लिकलेसन अपिसर पुरुषोत्तम न्यौपानेको लगायतको उपस्थिति रहेको थियो।

















