बैतडी ।
बैतडीको मेलौलीमा आधारभूत अस्पातल निर्माणका बिषयमा देखिएको विवाद थप बढ्दै गएको छ । वडा नं १ र ७ का बासिन्दाहरुले आ–आफ्नो ठाउँमा अस्पताल निर्माण हुनुपर्ने माग राखेपछि दुईदिनदेखि स्थानीयहरुले नाराबाजी गरेका छन् ।
दुबै पक्षले नाराबाजी सहित मेलौली-पञ्चेश्वर सडक अबरुद्ध पारेका छन् । यस्तै वडा नं १ का बासिन्दाहरुले वडा नं १ को बिट्ठेनीमा अस्पताल निर्माण हुनुपर्ने माग राखेका छन् । उनीहरुले पनि नगरपालिका नजिकै प्रर्दशन गरेका छन् । आज पनि दुवै पक्षले आ–आफ्नो क्षेत्रमा प्रर्दशन गरेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए ।
वडा नं ७ का स्थानीयहरुले केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र रहेकै ठाउँमा १५ शैय्याको आधारभूत अस्पताल निर्माण हुनुपर्ने माग राख्दै मंगलबारदेखि नगरपालिकामा तालाबन्दी गरेका हुन् ।
यहि बिषयमा वडा नं १ का जनप्रतिनिधि सहित स्थानीयहरुले सोमबार नगरपालिकालाई ज्ञापनपत्र दिएका थिए । त्यसैको भोलीपल्ट वडा नं ७ बासीले पनि केशरपुर स्वास्थ्य केन्द्रलाई नै स्तरोन्नतीसहित १५ शैयाको अस्पताल निर्माण गर्न माग गर्दै नगरपालिकामा तालाबन्दी गरेका थिए । नगरपालिकाले प्रशासनको रहोबरमा ताला खोलेपछि बिहिबार दुबैपक्षबीच झडप समेत भएको थियो। बिहीबार दुवै पक्षबीच झडप हुँदा ३५ जना घाइते भएका थिए ।
आजसम्म पनि तालाबन्दी कायमै रहेको छ । नेपाल नगरपालिका संघको अधिवेशनका लागि मेलौली नगरपालिकाका प्रमुख र उपप्रमुख काठमाण्डौंमा रहेका छन् । नगर प्रमुख भीमबहादुर चन्दले विज्ञप्ती निकालेर वार्ता र सम्वादकै माध्यमबाट समस्याको समाधान खोज्नुपर्नेमा जोड दिएका छन् ।
दुवै पक्षको विवादका कारण २०७० सालदेखि अस्पताल निर्माणको कुरा अलपत्र परेको छ । दुवै पक्षको खिचातानीका कारण अस्पताल निर्माणको काम अघि बढ्न सकेको छैन् ।