हेटौंडा / मकवानपुर प्रहरीले तीन छुट्टाछुट्टै कारबाहीमा ठूलो परिमाणमा लागुऔषध बरामद गर्दै ६ जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ल प्रहरी कार्यालय मकवानपुरका डिएसपी श्यामु अर्यालले जानकारी दिनुभए अनुसार साउन २२ गते अपराह्न २ बजे, प्रहरी चौकी रातोमाटेबाट खटिएको टोलीले हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटे चेकपोइन्टमा चितवनतर्फबाट वीरगञ्ज जाँदै गरेको ना ६ ख ९५३३ नम्बरको यात्रुबाहक बसमा सवार दुई नाबालकको झोलामा लुकाइ ल्याइएको ९ किलो २०० ग्राम गाँजा फेला पारेको हो। बरामद गाँजासहित दुवैलाई नियन्त्रणमा लिई म्याद थप गरी अनुसन्धान भइरहेको जनाइएको छ।
त्यसैदिन दिउँसो १२:४५ बजे, विशेष सूचनाका आधारमा हेटौंडा–४ कमलडाँडामा गरिएको कारबाहीमा २४ वर्षीय दिलबहादुर सार्की र २४ वर्षीय कुमार लोको कोठामा राखिएको स्टिलको बाकस भित्र चप्पलमा लुकाइएको ६ ग्राम ७२० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ बरामद भएको अर्यालले जनाकारी दिनुभएको छ।
यस्तै, साउन २३ गते दिउँसो १२:०५ बजे, हेटौंडा–१० सिमाचोकस्थित फेमस तास हाउस होटल अगाडि पार्कीङमा ना २३ प ६८३७ नम्बरको मोटरसाइकलमा सवार ३० वर्षीय बिशाल पौडेल र २९ वर्षीय पाल्डुव लामाको साथबाट ओनेरेक्स–१०० एमएलका १५ बोतल बरामद गरिएको छ।
उहाका अनुसार तीनवटै घटनामा बरामद लागुऔषधसहित पक्राउ परेका व्यक्तिहरूलाई सम्मानित मकवानपुर जिल्ला अदालतको म्याद अनुमती लिई थप अनुसन्धान कार्य जारी रहेको छ।

















