हेटौंडा / युवापुस्तालाई समाज र राष्ट्रको मेरुदण्डको रूपमा वर्णन गर्दै बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले दीगो र समृद्ध भविष्य निर्माणमा युवाको महत्वपूर्ण भूमिका रहेको बताएका छन्।
ब्रह्माकुमारी राजयोग सेवा केन्द्र युवा प्रभागद्वारा अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजित “दिगो भविष्यका लागि युवा सशक्तीकरण” विषयक कार्यक्रममा बोल्दै प्रदेश प्रमुख देवकोटाले विवेकप्रदत्त ज्ञान, संस्कार र सेवा-भावलाई भविष्य निर्माणका तीन आधारस्तम्भका रूपमा व्याख्या गर्दै यी सबैको वाहक युवा शक्ति नै हुने बताए।
“जब युवामा आत्मचेतना, अनुशासन र सेवाउन्मुख जीवन दृष्टि हुन्छ, तब मात्र समाज र देशले उज्यालो र चिरस्थायी गन्तव्य लिन सक्छ,” उहाँले भने। उहाँका अनुसार दिगो भविष्य केवल भौतिक समृद्धिमा सीमित नभई नैतिक बल, अनुशासन, सामाजिक एकता, सद्भाव र आन्तरिक शान्तिसँग गाँसिएको हुन्छ।
प्रदेश प्रमुख देवकोटाले सुखी नेपाली र समृद्ध नेपालको परिकल्पना साकार पार्नका लागि युवाहरू शारीरिक, मानसिक, नैतिक, बौद्धिक, आध्यात्मिक र संवेगात्मक हिसाबले सबल र सुदृढ हुनुपर्ने बताए। “धेरै मानिस क्षमता नभएर होइन, नचिनेर पछि पर्छन्,” भन्दै उनले युवालाई आफ्ना क्षमता चिन्न र समाजलाई युवालाई हौसला दिन आग्रह गरे।
आध्यात्मिक चेतनाले युवालाई कुशल, सवल, संस्कारी र अनुशासित बनाउन सक्ने भन्दै उहाँले आम युवालाई आध्यात्मिक चेतनाको द्वार खोली सफल जीवनको मार्गमा अघि बढ्न आह्वान गरे।
कार्यक्रममा अध्यक्ष ब्रह्माकुमारी शुशिलाको नेतृत्वमा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त उत्प्रेरक बाबुराजा शाहाले युवालाई उत्प्रेरणात्मक परामर्श दिएका थिए।
















