हेटौंडा/ मकवानपुरको हेटौंडामा दुई दिनमा तीन जना व्यक्तिहरूलाई खैरोहेरोईन जस्तो देखिने लागुऔषधसहित प्रहरीले नियन्त्रणमा लिएको छ।
२०८२।०४।३० गते बिहान १०:१५ बजे जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले हेटौंडा उपमहानगरपालिका–२, शान्तिटोलस्थित इश्वर अर्यालको घरमा शंकास्पद गतिविधि भइरहेको सूचना पाएपछि छापा मार्दा ३ ग्राम २४० मिलिग्राम खैरोहेरोईन जस्तो देखिने पदार्थ फेला पारिएको थियो। यस क्रममा ३८ वर्षीय इश्वर अर्याल र ३५ वर्षीय नविन बर्तौलालाई नियन्त्रणमा लिइएको छ। प्रहरीले मकवानपुर जिल्ला अदालत हेटौडाबाट म्याद अनुमति लिएर थप अनुसन्धान गरिरहेको छ।
त्यसअघि २०८२।०४।२९ गते राति ८ बजे हेटौंडा उपमहानगरपालिका–१० निवासी २४ वर्षीय राजीब मोक्तानलाई वडा नं. ५, सानोपोखरा स्थित भाडाको कोठामा शंकास्पद अवस्थामा फेला पारिएको थियो। निजको साथबाट १० वटा सानो पुरीमा जम्मा ५७० मिलिग्राम खैरोहेरोईन जस्तो देखिने पदार्थ बरामद गरिएको थियो। उनलाई पनि अदालतबाट म्याद अनुमति लिएर नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी श्यामु अर्यालले जानकारी दिनुभएको छ।

















